काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर दोस्रो बजारमा सूचीकरण भई सोमबारदेखि कारोबार सुरु भएको छ । 

इन्फिनिटी लघुवित्त र नेपाल स्टक एक्सचेन्जबीच आइतबार सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको थियो । जसअनुसार इन्फिनिटीको २० लाख ७४ हजार कित्ता सेयर सूचीकरण भएको हो । 
नेप्सेले यो कम्पनीलाई प्रि–ओपनिङ कारोबारका लागि रु १०३.८१ देखि रु ३११.४३ सम्मको कारोबार रेन्ज तोकिदिएको
छ । 

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि आईएलबीएस (ILBS) कारोबार संकेत पाएको छ। सोमबार बजार खुल्नु १५ मिनेटअगाडि प्रि–ओपनिङमा कारोबार भएपछि मात्र यो कम्पनीको नियमित कारोबार सुरु भएको हो । 

इन्फिनिटी लघुवित्तले थत जेठ १३ गतेदेखि ६ लाख ७४ हजार ३०० कित्ता (रु. १०० अंकित दर) का आइपीओ निश्कासन गरेको थियो । कुल निश्कासन कित्तामध्ये म्युचअुल फण्डहरुका लागि ३३ हजार ७०० कित्ता, कम्पनीका कर्मचारीका लागि १० हजार ३७० कित्ता र बाँकी रहेको ६ लाख ४० हजार ३०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको थियो । 

यो कम्पनीलाई धितोपत्र बोर्डले गत बैशाख २३ गते कम्पनीलाई चुक्तापूँजीको ३२.५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख बराबरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको थियो । 

यो कम्पनीको आईपिओलाई केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ को रेटिङ्ग प्रदान गरेको थियो, जसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।

चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको कम्पनीको आइपीओपछि चुक्तापूँजी २० करोड ७४ लाख पुगेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड १९ लाख खूद नाफा आर्जन गरेको थियो ।

यो कम्पनीको मुख्य कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । यो कम्पनीले हाल विभिन्न जिल्लाका ४३ शाखाबाट वित्तीय सेवा दिइरहेको छ । यो कम्पनीले २०७५ माघ ७ गते दोश्रो वार्षिकोत्सव पूरा गरेको थियो ।