काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अनलाइन प्रणालीबाट सेयर खरिदबिक्री गर्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ।

नेपाल स्टक एक्सचेन्जले एक सूचना प्रकाशित गर्दै हिजो आइतबार कुल सेयर कारोबार भएकोमध्ये अनलाइन प्रणालीबाटै ८८.५५ प्रतिशत भएको जनाएको छ। आइतबार ३५ हजार ३१७ लगानीकर्ता सेयर खरिदबिक्रीमा सहभागी भएका थिए। जसअनुसार ३१ हजार २७३ जनाभन्दा बढी लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरेका थिए। 

हिजो नेप्से परिसूचक ७५ अंकले बढेर १९६८ माथि पुगेको छ। नेप्सेको यो हालसम्मकै सर्वाधिक उचाईको कीर्तिमान हो। गत बिहीबार नेप्सेले चार वर्षअघिको अलटाइम हाईको रेकर्डलाई ब्रेक गरी आफ्नो बुलिस प्रवृति पुष्टि गरेको थियो। 

यस्तै हिजो ९ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । एकैदिन यति ठूलो रकमको सेयर कारोबार भएको समेत आज पहिलोपटक हो। गत बिहीबार ८ अर्ब हाराहारीको कीर्तिमान बनेको थियो। त्यो कीर्तिमानलाई तोड्दै साताको पहिलो कारोबार दिन आइतबारको बजारले कारोबार रकमको समेत नयाँ रेकर्ड बनाएको हो। 

हिजो हालसम्मकै सर्वाधिक २ करोड ५९ लाख ४५ हजार बढी कित्ता सेयरको कारोबार भएको थियो । यो पनि नयाँ कीर्तिमान हो। 

यस्तै हिजो एकैदिन ८० हजार २७१ वटा भन्दा बढी कारोबार भएका थिए। यो पनि हालसम्मकै सर्वाधिक कारोबार भएको रेकर्ड हो।