– अनन्त्य सुन्दर

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८०को बजेटको ३२९ नम्बर बुँदामा ‘धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइनेछ’ भनी उल्लेख गरिएको छ। वित्तीय जानकारहरुका अनुसार उक्त बुँदामा उल्लेख भएको संरचना ‘दोस्रो स्टक एक्सचेन्ज’ रहेको बताउँछन्।

बजेटमा उल्लेख भएअनुसार नै नेपाली सेयर बजारमा पछिल्लो समय ‘दोस्रो स्टक एक्सचेन्ज’ सञ्चालन चर्चाको विषय बनेको छ। लगानीकर्तादेखि ब्रोकर, मर्चेन्ट बैंकर, नियामक निकायका कर्मचारीका साथै बजारका विज्ञसम्म दोस्रो स्टक एक्सचेन्जको आवश्यकताबारे बहस हुने गरेको छ। 

दोस्रो स्टक एक्सचेन्ज सञ्चालनमा आउने हो भने अहिले भएको स्टक एक्सचेन्ज अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पनि थप प्रतिस्पर्धी बनाउनका लागि नेतृत्व स्तरबाट आवश्यक सुधारका कदमहरु चाल्न उत्तिकै आवश्यक हुन्छ। 

नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनका लागि मन्त्रालयस्तरमै आवश्यक पहल साथै गृहकार्य गर्नुपर्ने नेप्सेका अधिकारीहरु बताउँछन्। ‘दोस्रो स्टक एक्सचेन्ज सञ्चालनमा आउँदा नेप्से ‘सर्भाइभ’ गर्नकै लागि पनि नेप्सेको स्वामित्व, सञ्चालक समितिको संरचनालगायत परिवर्तनका लागि मन्त्रालयस्तरमै पहल गर्न आवश्यक छ’, नेप्सेका एक अधिकारीले भने, ‘दोस्रो स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदै गर्दा नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनलाई आवश्यक पहल नगर्ने हो भने भोलिको दिनमा नेप्सेको हालत जनकपुर चुरोट कारखानाको जस्तो नहोला भन्न सकिन्न।’

नेप्सेका सीईओ कृष्णबहादुर कार्की दोस्रो स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदा अहिले सञ्चालनमा भएको नेप्सेलाई पनि थप प्रतिस्पर्धी बनाउन उत्तिकै आवश्यक रहेको बताउँछन्। ‘नेप्सेको क्षमता विस्तारका साथै नेप्सेलाई प्रतिस्पर्धी बनाउनका लागि अहिले भएको नेप्सेको सेयर संरचना परिवर्तन, डेटा सेन्टर साथै अनलाइन सिस्टममा सुधार आवश्यक छ’, उनले भने।

‘नेप्सेमा विभिन्न टुल्सहरु पनि सञ्चालन गर्न आवश्यक छ। भारतमा सञ्चालनमा रहेको डेरिभेटिभ मार्केट अध्ययनका लागि हामी भारतस्थित बम्बई स्टक एक्सचेन्ज (बीएसई) पनि गएका थियौँ’, सीईओ कार्की भन्छन्, ‘नेप्सेमा डेरिभेटिभलगायतको अन्य टुल्स सञ्चालनबारे पनि अध्ययन हुँदैछ।’

नेप्सेलाई थप प्रतिस्पर्धी बनाउन आईटी, जनशक्तिका साथै काम गर्ने कार्यविधिमा सुधार आवश्यक रहेको कार्कीले औँल्याएका छन्।