काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज ४०.२६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८८९.०३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेर ५३८.५ को विन्दुमा झरेको छ। कारोबार रकम ५ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार प्रकाश रजौरे आजको बजार घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। यद्यपि कारोबार पनि घटेकोले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको हुन सक्ने रजौरेको भनाइ छ। ‘पछिल्लो समय सेयर धितो कर्जाको सीमाको विषयले बजार प्रभावित भएको पनि देखिन्छ’, उनले भने, ‘त्यसैले लगानीकर्ताहरु अबको राष्ट्र बैंकको कदमको प्रतिक्षामा बसेको देखिन्छ।’

ब्याजदर खासै नबढ्ने भएकोले यही कारणले बजार तल जाने सम्भावना नरहेको रजौरे बताउँछन्। ‘किनकि बैंकहरुको आधारदर घटेको छ, १–२ प्रतिशत ब्याजदर बढ्दैमा आत्तिनुपर्ने अवस्था हुँदैन’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाशन न्यौपाने लगानीकर्ता अन्यौलता पर्दा बजार प्रभावित भएको बताउँछन्। राजनीतिक अवस्था पनि अस्थिर रहेका कारण बजार प्रभावित भएको हुन सक्ने न्यौपानेको अनुमान छ। 

केही बैंकको ब्याजदर बढ्दैमा बजार घट्ने सम्भावना नरहेको न्यौपाने बताउँछन्। ‘बजार बुलिस नै छ, लाभांश घोषणा गर्ने बेला पनि हो तर केही ढिला हुने भएकोले बजार केही दिन अझै साइडवेजमा जान सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक २.९८ प्रतिशतले ओरालो लागेको छ। होटेले तथा पर्यटन समूह २.२४ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.०५ प्रतिशत, विकास बैंक समूहमा २.११ प्रतिशत, जलविद्युत समूहमा २.११ प्रतिशत, लगानी समूहमा १.८४ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०८ प्रतिशत, लघुवित्त समूहमा ०.९५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०५ प्रतिशत, अन्य समूहमा १.१३ प्रतिशत र व्यापार समूहमा ०.८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५०.५४ रुपैयाँमा किनबेच भएका छन्। 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २२ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन आईसीएफसी फाइनान्सको १५ करोड ३८ लाख रुपैयाँ, रैराङ हाइड्रोपावरको १४ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १३ करोड २० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ९६ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड ७६ लाख रुपैयाँ, अपी पावरको ११ करोड ८३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ११ करोड ५९ लाख रुपैयाँ र छ्याङ्दी हाइड्रोपावरको ११ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यसैगरी यो दिन हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।