काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। 

आज बजार २३.१९ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २६३९.३७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.५६ अंकले घटेर २९४.२२ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँ बढीको भएको छ।  

सक्रिय लगानीकर्ता प्रकाशन रजौरे आज बजारको घटाइलाई करेक्सनकै रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार २ दिन बढेको थियो, यो साता २ दिन घट्यो’, उनले भने, ‘यसलाई करेक्सनकै रुपमा लिनुपर्छ।’

बजार घट्नुको अर्को कारण भनेको चाडपर्वको सिजन पनि रहेको रजौरेको तर्क छ। ‘मान्छेहरु फेस्टिभ मुडमा छन्’, उनले भने।

केही ठूला र संस्थागत लगानीकर्ताहरु अझै पनि सरकार र नियामकको नीति निर्णयको प्रतिक्षामा रहेकोले बजार प्रवेश गरिनसकेको रजौरेको भनाइ छ। ‘बजारको करेक्सन सकिएको छ, जति तल जानु थियो गइसक्यो’, उनले भने, ‘बजार माथि नै जान्छ, अब बढेको बजारले ४२०० सम्मको विन्दु चुम्न सक्छ। त्यसका लागि केही समय भने अवश्य लाग्छ।’

अब दसैँपछि बजारको दिशा तय हुने पनि रजौरे बताउँछन्। ‘दसैँ र तिहारबीचमा सरकार र नियामकबाट केही नीतिगत फेरबदल हुने सम्भावना छ’, उनले भने, ‘बजारअनुकूल नीतिगत निर्णय भएमा दसैँपछि बजारले लय समात्छ।’

सक्रिय प्रकाश न्यौपाने अहिले बजारको सेन्टिमेन्ट बिग्रिएको अवस्था रहेको बताउँछन्। ‘यसलाई सुधार्न सरकार र नियामकबाट उचित नीतिगत निर्णयहरु आउन आवश्यक छ’, उनले भने, ‘सेयर बजारको भविष्य अब सरकारकै कोटमा रहेको छ।’

भारतीय सेयर बजारलाई तुलना गरी हेर्दा पनि नेपालको बजार माथि नै जाने देखिने पनि न्यौपाने बताउँछन्। ‘लगानीकर्ताको मनोबल दह्रो भए ब्याजदरले पनि खासै प्रभाव पार्दैन’, उनले भने, ‘सरकारबाट बजार विकास तथा विस्तारका लागि लगानीकर्ताहरुले गर्दै आएका माग पूरा हुन आवश्यक छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन लगानी समूह सर्वाधिक १.०७ प्रतिशतले उकालो लागेको छ भने म्युचुअल फन्ड समूहमा ०.३८ प्रतिशतको बढोत्तरी भएको छ।

आज अन्य समूह सर्वाधिक २.२१ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.१२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा ०.८७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा १.३५ प्रतिशत, जलविद्युत समूहमा १.१९ प्रतिशत, वित्त समूहमा १.८३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२९ प्रतिशत, अन्य लघुवित्त समूहमा १.२६ प्रतिशत र जीवन बीमा समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २१९ कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा किनबेच भएका छन्।

आज नबिल बैंकको सर्वाधिक १७ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको १६ करोड ९२ लाख रुपैयाँबराबरको कारोबार भएको आज महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ, निफ्राको ११ करोड ६७ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५० लाख रुपैयाँ, सानिमा बैंकको ९ करोड ९८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ९ करोड ११ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स (संस्थापक सेयर) को ९ करोड ११ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४९ लाख रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको ७ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

यो दिन सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ झन्डै ८ प्रतिशतले उकालो लागेको छ।
आज महालक्ष्मी विकास बैंकको सेयरधनीहरु सर्वाधिक गुमाए। यो बैंकको सेयर भाउ झन्डै ९ प्रतिशतले ओरालो लागेको छ। यो दिन रैराङ हाइड्रोपावरको सेयरमूल्यमा ८ प्रतिशत बढीको गिरावट आएको छ। 

सेयर बजारमा आज दसैँअघिको अन्तिम कारोबार हो। बजार अब असोज ३१ गतेमात्र खुल्नेछ।