काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। 

आज २ घन्टा खुलेको बजार ३४.८५ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २११३.३० को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.९१ अंकले घटेर ४०६.३४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे २ अर्ब रुपैयाँ बढीको भएको छ।

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोलाले सबैतिर सकारात्मक महौल हुँदाहुँदै पनि बजार घट्नुलाई ‘सुनियोजित घटाइ’को संज्ञा दिए। ‘आज ट्रेडरले नाफा बुक गरेका कारण पनि बजार घटेको हुन सक्छ’, उनले भने, ‘१२ करोडको सेटलमेन्टको प्रभाव पनि हुन सक्छ।’

अहिले बैंकहरुको पनि रिपोर्ट राम्रै आएकोले र अर्थमन्त्रीले पनि बजारको परिस्थिति बुझिसकेकोले आगामी साताबाट बजार सम्हालिन सक्ने बास्तोलाको तर्क छ।

बजार जानकार महेश रिजाल ब्याजदरमा देखिएको द्विविधाले बजार घटेको बताउँछन्। ‘आजको एनबीएको बैठकले यो महिनाको ब्याजदर यथावत नै राख्ने निर्णय गरेको छ’, उनले भने, ‘भदौको ब्याजदर साउन अन्तिमतिर आउला, भदौमा ब्याजदर बढ्छ कि भन्ने लगानीकर्तामा द्विविधा देखिन्छ।’

ब्याजदर बढाउँदा बैंकहरुको लागत बढ्ने भएकोले भदौमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर बैंकहरुले घटाउन सक्ने रिजालको भनाइ छ। ‘त्यसैले व्यक्तिगत मुद्दति निक्षेपको ब्याज बढ्छजस्तो मलाई लाग्दैन’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने बाँकी १२ वटा समूहमा रातो पोतिएको छ। म्युचुअल फन्ड समूहमात्रै ०.८ प्रतिशतले उकालो लागेको छ। 

यो दिन वित्त समूह सर्वाधिक ३.४ प्रतिशतले ओरालो लागेको छ। व्यापार समूह २.८ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.६२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.९१ प्रतिशत, विकास बैंक समूहमा २.२२ प्रतिशत, जलविद्युत समूहमा १.५३ प्रतिशत, निर्जीवन बीमा समूहमा १.१२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२३ प्रतिशत, अन्य समूहमा ०.५८ प्रतिशत, लघुवित्त समूहमा २.३७ प्रतिशत, जीवन बीमा समूहमा १.२ प्रतिशत र लगानी समूहमा २.०७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका ६४ लाख १६ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १५ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको १४ करोड १४ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ९ करोड ६४ लाख रुपैयाँ, अपी पावरको ५ करोड ६७ लाख रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ६० लाख रुपैयाँ, युनिभर्सल पावरको ५ करोड ५५ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ५ करोड ४८ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रो ५ करोड ४३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ९८ लाख रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ७५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने, धेरै गुमाउने

यो दिन जोशी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। 

आज मैलुङखोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।