काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज १७.६८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१०६.१५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४४ अंकले घटेर ४०६.११ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा भने कारोबार रकम थोरै बढेर पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार वीरेन्द्र बिष्ट आज बजार घट्नुमा मुख्य २ कारण हुन सक्ने बताउँछन्। ‘पहिलो कारण नाफा बुक भएको हुन सक्छ’, उनले भने, ‘दोस्रो कारण ४–१२ को दबाब अझै रहेको हुन सक्छ, यस्तो ऋण ५० करोडदेखि १ अर्ब रुपैयाँसम्मको हुन सक्छ।’

बिष्ट बजार करेक्सन हुँदै २०८० सम्म आउन सक्ने अनुमान गर्छन्। ‘अब लाभांशको सिजन सुरु भएकोले बजार धेरै घट्दैन’, उनले भने।

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि बजार अझै ४–१२ को दबाब रहेको आशंका गर्छन्। ‘राष्ट्र बैंकले भदौ ८ सम्मको समयसीमा तोकेको छ’, उनले भने, ‘त्यही कारणले बैंकहरुले सतप्रतिशत प्रोभिजन गर्नुभन्दा ऋणलाई दबाब दिएको हुन सक्छन्।’

यद्यपि, बजारमा १०–२० अंकको गिरावट सामान्य रहेको घिमिरेको भनाइ छ। ‘केही लगानीकर्ताहरुमा अझै पनि ब्याजदरको विषयमा द्विविधा रहेको हुँदा बजारमा दबाब परेको हुन सक्छ’, उनले भने। 

आज नेप्से उपसमूहका रहेका १३ वटा समूहमध्ये ११ वटामा रातो पोतिएको छ भने २ वटामा हरियाली छाएको छ। 

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.२७ प्रतिशतले उकालो लागेको छ भने उत्पादन तथा प्रशोधन समूहमा ०.१ प्रतिशतको बढोत्तरी भएको छ। 

आज अन्य समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १.६२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४४ प्रतिशत, व्यापार समूहमा ०.५१ प्रतिशत, विकास बैंक समूहमा १.३९ प्रतिशत, जलविद्युत समूहमा १.०४ प्रतिशत, वित्त समूहमा १.३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत, लघुवित्त समूहमा ०.३६ प्रतिशत, जीवन बीमा समूहमा १.०३ प्रतिशत र लगानी समूहमा १.३७ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका ६५ लाख २७ हजार ४१४ कित्ता सेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक २० करोड ७१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको १० करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको आज सीआईटीको ८ करोड २१ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ७ करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ७ करोड १८ लाख रुपैयाँ, अपी पावरको ६ करोड ७७ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ६ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको संस्थापक सेयरको ६ करोड १७ लाख रुपैयाँ, युनिभर्सल पावरको ५ करोड ४० लाख रुपैयाँ र एचआईडीसीएलको ५ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 

यो दिन जानकारी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागेको छ।