काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजार आज २७.९२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०१०.०१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७३ अंकले घटेर ३८६.९४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पौने २ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार महेश रिजाल बजारमा अहिले मनोवैज्ञानिक प्रभाव परेको बताउँछन्। ‘केही ठूला लगानीकर्ताले लोन सेटलमेन्ट गरेको भन्ने हल्ला छ’, उनले भने, ‘त्यही कारणले सेलिङ प्रेसर परेको हुन सक्ने अनुमान छ।’

तत्काल ब्याजदर बढ्न सम्भावना रहेको रिजाल बताउँछन्। ‘अहिले आत्तिएर घाटा खाएर सेयर बेच्नुपर्ने कुनै कारण छैन’, उनले भने, ‘बजार जसरी घटेको छ, त्यसरी नै बढ्न पनि सक्छ। त्यस्तो भएमा बजार २४००–२५०० सम्म पनि पुग्न सक्छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल भदौको ब्याजदर के होला भन्ने अन्यौलता र मन्त्रिपरिषद्बाट ब्रोकर लाइन्सेन्ससम्बन्धी प्रस्तावित निर्देशिका खारेज भएको भन्ने खबरले लगानीकर्तामा मनोवैज्ञानिक डर सिर्जना भएको बताउँछन्। ‘अहिले डराएर घाटामै सेयर बेच्नुपर्ने अवस्था छैन’, उनले भने, ‘भदौको पहिलो साताको बजार सम्हालिन सक्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.५८ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह २.७२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६६ प्रतिशत, व्यापार समूहमा २.२६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७८ प्रतिशत, विकास बैंक समूहमा १.३१ प्रतिशत, जलविद्युत समूहमा १.९१ प्रतिशत, वित्त समूहमा २.५८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६६ प्रतिशत, अन्य समूहमा १.१३ प्रतिशत, लघुवित्त समूहमा १.०९ प्रतिशत, जीवन बीमा समूहमा २.४३ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.८ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको हुँदा शिवम सिमेन्टको ८ करोड २० लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ६ करोड ६१ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड ४४ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको संस्थापक सेयरको ४ करोड ४३ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड २९ लाख रुपैयाँ, एचआईडीसीएलको ३ करोड २४ लाख रुपैयाँ र नागरिक लगानी कोषको ३ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशत बढीले ओरालो लागेको छ।