काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको करेक्सन आएको छ। 

आज बजार १२.४७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६३७.१३ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले घट्दै ४७३.०४ को विन्दुमा झरेको छ। आज कारोबार रकम बढेर पौन ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार मेघनाथ निरौला बजारमा झिनो अंकको करेक्सनलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार तलमाथि त भइहाल्छ’, उनले भने, ‘यसले बजारलाई बढ्न टेवा पुर्याउँछ।’

बजार माथि जानकै लागि अहिले सानोतिनो करेक्सन आइरहेको निरौलाको तर्क छ। ‘कोरोना त्रास र राजनीतिक महौलका कारण अहिले केही लगानीकर्ताले सेयर बेचिरहेकोजस्तो देखिन्छ’, उनले भने, ‘तर यतिबेला होल्ड गर्नेले राम्रै कमाउनेछन्।’

बैंकिङ सेक्टरमा चमक आउन अझै केही समय लाग्नेजस्तो देखिएको पनि निरौला बताउँछन्। ‘तर बैंकमा चमक अवश्य आउनेछ’, उनले भने, ‘कोरोना वा राजनीतिक कारण, अब कुनै पनि बहानामा बजार तल आउँदैन, बजार विस्तारै बढ्दै जान्छ, ३००० को विन्दुमा अवश्य पुग्छ।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने बजार बुलिस नै रहेको बताउँछन्। बजारमा राजनीतिकको प्रभाव क्षणिक हुने भन्दै न्यौपानेले भने, ‘अब सत्तामा जो आए पनि बजार सकारात्मक नै हुन्छ।’

अहिले सेयर बजारबाहेक अन्य विकल्प नरहेकोले लगानीकर्ताहरुलाई नआत्तिकन सेयर कारोबार गर्न न्यौपानेले सुझाव दिए। ‘बरु यो बेला राम्रा र बलिया कम्पनी छानेर लगानी गर्न सक्नुपर्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटा समूहमा रातो पोतिएको छ। यो दिन बैंकिङ समूह ७.११ अंकले उकालो लागेको छ। वित्त समूह ३.८५ अंकले बढेको आज लगानी समूहमा ०.१५ अंकको बढोत्तरी भएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक २३९.३३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह १३०.३१ अंकले घटेको आज व्यापार समूहमा ६२.९९ अंक, होटेल तथा पर्यटन समूहमा ४४.४ अंक, विकास बैंक समूहमा १३.८५ अंक, जलविद्युत् समूहमा ४९.३९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३७.८२ अंक, अन्य समूहमा २३.७२ अंक, लघुवित्त समूहमा ६३.८५ अंक र म्युचुअल फन्ड समूहमा ०.०८ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सर्वाधिक ४६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनसीसी बैंकको ४२ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको आज लक्ष्मी बैंकको २६ करोड ४५ लाख रुपैयाँ, अपी पावरको १५ करोड ६७ लाख रुपैयाँ, निफ्राको १५ करोड ७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १४ करोड ९५ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्तको १३ करोड ८१ लाख रुपैयाँ, नेसनल लाइफको १३ करोड ३३ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड २ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड ८४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा महिला लघुवित्त, समता घरेलु लघुवित्त र रुरु जलविद्युतको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर र लक्ष्मी बैंकको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

आज दुईवटा कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा सिंगटी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको हो। यो दिन ङादी ग्रुप पावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।