काठमाण्डौ । सेयर बजार मंगलबार पनि दोहोरो अंकले उकालो लागेको छ।
बजार आज १२.४१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१८.४१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक २.४९ अंकले बढेर ३६०.५२ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजो तुलनामा बढेर १ अर्ब ४४ करोड रुपैयाँ बढीको भएको छ।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार धेरै घटेको बजार बढेको बताउँछन्। ‘अब अर्थमन्त्री आउने र बजारलाई सम्बोधन गर्ने आशमा पनि लगानीकर्ता बिक्रीभन्दा थोरै–थोरै खरिदमा लागेको हुँदा बजारमा सुधार देखिएको हो’, उनले भने।
अब बन्ने अर्थमन्त्री र गभर्नरबीच राम्रो समन्वय भएमा तथा अर्थतन्त्र सुधारका लागि दुवैजना चिन्ता र चासोका साथ अगाडि बढेमा अर्थतन्त्रमा सुधार आउने र बजारले पनि सकारात्मक बाटो लिने रौनियार बताउँछन्।
सक्रिय लगानीकर्ता डिलेन्द्र पाण्डे अर्थमन्त्री कांग्रेसबाट बन्ने सम्भावना देखिएपछि लगानीकर्ताको मनोबल बढेको हुन सक्ने बताउँछन्। ‘सोही कारणले बजारमा सुधार आएको हुन सक्छ’, उनले भने।
पाण्डेले धेरै दिनदेखि लगातार घटेको बजारमा सेयरमूल्य न्यून लागेपछि लगानीकर्ताहरु बिक्रीभन्दा पनि खरिदतिर लाग्दा बजारमा सुधार आएको बताए।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा १० वटामा हरियाली छाएको छ भने ३ वटामा रातो पोतिएको छ।
यो दिन लघुवित्त समूह सर्वाधिक ३.४८ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह २.५३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४४ प्रतिशत, जलविद्युत समूहमा ०.२१ प्रतिशत, लगानी समूहमा ०.९४ प्रतिशत, जीवन बीमा समूहमा ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७५ प्रतिशत, अन्य समूहमा ०.६९ प्रतिशत र व्यापार समूहमा ०.९१ प्रतिशतको बढोत्तरी भएको छ।
आज विकास बैंक समूह सर्वाधिक ०.४८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.२९ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहमा ०.१२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २५८ कम्पनीका ४० लाख ७७ हजार ७७८ कित्ता सेयर १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक ६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ५ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको आज शिवम सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड ३६ लाख रुपैयाँ, अपी पावरको ३ करोड ५२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ३ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ९२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २ करोड ९१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २ करोड ७८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। सुपर माई हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा श्रृजनशील लघुवित्त र एसियन हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन महिला लघुवित्तको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा बढेको छ।
यो दिन तेह्रथुम पावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago