काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको धनगढीमा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको धनगढी, टिकापुर र अत्तरिया कार्यालयमा आबद्ध करिब ३०० जना अभिकर्ताको सहभागिता थियो।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई अझ बढी सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीतिअनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम सम्पन्न गर्दै आइरहेको र सोही क्रममा आज धनगढीमा यो कार्यक्रम आयोजना गरिएको बताए। 

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्तालाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए। 

यसैगरी कार्यक्रममा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत खत्रीले खादा, माला र सम्मानपत्रबाट सम्मान गरेका थिए। 

कार्यक्रममा सम्मानित अभिकर्ताले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै कर्म थलोमा सम्मानित हुन पाउँदा अत्यन्त खुसी लागेको बताए। 

कम्पनीको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उमाकान्त जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए।