काठमाण्डौ । इलेक्ट्रिक कार बनाउने विश्वकै अग्रणी कम्पनी टेस्लाले भारतमा आफ्नो धमाकेदार इन्ट्रीको तयारीमा रहेको छ। 

टेस्लाले भारतमा आफ्नो ४ वटा मोडलका कार बनाउने वा आयात गर्ने अनुमति पाएको हो। भारतको सडक एवं परिवहन मन्त्रालयको वेबसाइटका अनुसार टेस्लाले आफ्नो कार भारतीय सडकका लागि अनुकूल रहेको प्रमाणीकरण गरेको छ। टेस्लाको कार उत्सर्जन र सेफ्टीको हिसाबले भारतीय बजारअनुकूल पाइएको जनाइएको छ।

टेस्लाको एउटा फ्यान क्लबले यसअघि नै ट्विट गर्दै कम्पनीले भारतमा मोडल ३ र मोडल वाई भेरियन्टहरु उतार्ने खुलासा गरेको थियो। यद्यपि टेस्लाका लागि भारतीय बजारमा जम्न त्यति सहज भने छैन। किनकि भारतमा वार्षिक रुपमा बिक्री हुने कारहरुमा इलेक्ट्रिक कारको हिस्सा १ प्रतिशतमात्रै रहेको छ।

अर्कोतर्फ टेस्लाको कार निकै महँगो हुनेछ। चार्जिङ इन्फ्रास्ट्रक्चर र इलेक्ट्रिक कार बनाउने कम्पनीहरुका लागि वित्तीय व्यवस्थापन पनि निकै कमजोरी देखिएको छ। 

त्यसैगरी भारतमा ट्याक्स थुप्रै लाग्ने भएकोले इलेक्ट्रिक कार बिक्रीमा चुनौती देखिन सक्छ। टेस्लाका सीईओ एलन मस्कले हालै एउटा ट्विट गर्दै भारत सबैभन्दा धेरै आयात शुल्क लिने देशमध्ये एउटा रहेको उल्लेख गरेका थिए। – एजेन्सी