काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकसँगको प्राप्ति प्रक्रिया टूटेपछि साना संस्था उठाउने अभियानमा जुटेको प्राइम कमर्सियल बैंक लिमीटेडले  ललितपुर फाइनान्स लिमीटेडसँग पनि प्राप्तिको सम्झौता गरेको छ । 

आइतबार बैंकको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा ग वर्गको वित्तीय संस्था, ललितपुर फाइनानस लिमीटेडलाई प्राप्तिको सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको हो । 

प्राप्ति सम्बन्धी सम्झौतापत्रमा प्राइम कमर्सियल बैंकका संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनानसका तर्फबाट संचालक समितिका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरेका थिए । 

केही दिनअघि यो बैंकले तीनजिल्ले विकास बैंक, कन्काई विकास बैंकसँग समेत प्राप्तिको सम्झौता गरेको थियो । 

ललितपुर महानगरपालिका वडा नं.५, लगनखेलमा मुख्य कार्यालय रहेको ललितपुरलाई समेत प्राप्तिपछि प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ पुग्नेछ । 

यो बैंकले कैलाश विकास बैंकलाई समेत प्राप्ति गर्ने संभावना छ। अन्य आधादर्जन बढी साना वित्तीय संस्थासँग समेत गाभ्ने/गाभिने विषयको छलफललाई बैंकले निकै अगाडि बढाइसकेको संचालकहरु बताउँछन् ।