काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको अवस्था थप धराशायी भएको छ । पहिलो त्रैमासमा कमजोर वित्तीय विवरण पस्किएको यो बैंकको दोश्रो त्रैमासको अवस्था सुधार हुनको साटो थप बिग्रिएको हो । 

नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेतृत्व गरेको बैंकले दोश्रो त्रैमासमा केही सुधारको आशा गरेर बसेका लगानीकर्तालाई निराश पारिदिएको छ । 

दोश्रो त्रैमासमा यो बैंकको खूद नाफा र संचालन नाफा नै घटेको छ । नाफा घटेपछि प्रतिसेयर आम्दानी र नेटवर्थमा पहिरो गएको छ । 

अघिल्लो वर्ष यही अवधिमा ५४ करोड ६ लाख नाफा गरेको यो बैंकले समीक्षा अवधिमा ४३ करोड ८० लाख मात्र खूद नाफा आर्जन गर्न सक्यो । यस्तै, अनियन्त्रित खर्चमा लगाम लगाउन नसक्दा संचालन नाफा ७४ करोडबाट घटेर ६३ करोडमा सीमित बन्न पुगेको छ । 

४ अर्ब रहेको चुक्तापूँजी बढेर ८ अर्ब ८ करोडको उचाईमा पुग्दा व्यवसाय बिस्तार गरेर आम्दानी बढाई नाफा कमाउनुपर्नेमा उल्टो गतिमा बैंक कुदेको देखिएको छ । 

अर्को महत्वपूर्ण सूचक खराब कर्जा घटाउन समेत बैंक असफल देखिएको छ । अघिल्लो वर्ष ०.९९ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.४७ प्रतिशतको उचाईमा पुगेको छ ।

बैंकले निक्षेप संकलनमा झिनो मात्र प्रगति गरेको छ । अघिल्लो वर्ष ४१ अर्ब ३ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष ४१ अर्ब ८९ करोड मात्र निक्षेप संकलन गर्न सक्यो । कर्जातर्फको प्रगति समेत सन्तोषजनक छैन ।

बैंकको सीसीडी रेसियो ७९.१३ प्रतिशत छ भने आधार दर ११.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही अवधिमा आधार दर ७.२७ प्रतिशत मात्र थियो । १६.४३ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ८.०५ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब ५६ करोड रुपैयाँ रहेको रिजर्बमा सामान्य वृद्धि भई यो वर्ष २ अर्ब ७९ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १०.८३ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २६.९५ रुपैयाँ थियो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३४.५१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६ गुणा कायम भएको छ ।