काठमाण्डौ । व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान नदिंदा लगानीकर्ताहरु कसरी हिस्स बन्नुुपर्छ भन्ने उदाहरण मेगा बैंकले प्रस्तुत गरेको छ । करिब १० महिनादेखि लगानीकर्ताको लगानीलाई बन्धक बनाएको यो बैंकले व्यवसाय बिस्तार गर्न नसकेका कारण नाफामा पहिरोको सामना गर्नुपरेको छ । लगानीकर्ताको हितको पक्षमा संवेदनशील नदेखिएको मेगा बैंकको नाफा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ११ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १४ करोड ६९ लाख थियो । 

बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले नेतृत्व गरेको यो बैंकले व्यवसाय बिस्तार गर्न सकेन । फलस्वरुप खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३५ करोड ६७ लाख रहेको खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा ३३ करोड ४८ लाखमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकले ३९ अर्ब ३९ करोड निक्षेप संकलन गरी ३५ अर्ब २४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३६ अर्ब ७७ करोड निक्षेप संकलन गरी ३१ अर्ब ८१ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले प्रगति गर्न नसके पनि सौखिन कर्मचारीका कारण खर्च ह्वात्तै बढेको छ । अन्य संचालन खर्चमा पनि व्यवस्थापनले नियन्त्रण कायम गर्न सकेको छैन । समग्रमा मेगा बैंकमा लगानीकर्ताहरुको लगानी क्रमशः खिइँदै जाने अवस्था पहिलो त्रैमासको कमजोर प्रगति विवरणले देखाएको छ । 

संभावित जोखिम व्यवस्थापनबाट साढे करोड फिर्ता ल्याउँदा समेत मेगाको खूद नाफा ८ करोड ११ लाख मात्र हुनुु अर्को चिन्ताको बिषय हो । 

समीक्षा अवधिमा मेगा बैंकको निस्क्रिय कर्जा समेत बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १.०८ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर १.६७  प्रतिशत पुुगेको छ । अघिल्लो वर्षसम्म ४ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ७.८० प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिको मात्र बैंकको प्रतिसेयर आम्दानी(इपीएस) १.७७ रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी ६.८८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात बढेर ६६.५७ गुणा पुुगेको छ भने प्रतिसेयर नेटवर्थ १२९.८० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति मूल्य ११०२.३५ रुपैयाँ कायम भएको छ ।