काठमाण्डौ । सुनको गरगहना किन्दा तपाइँले यो सोच्नुहुन्छ कि सुन कहाँबाट आउँछ ? के सुुन सधैँ आपूर्ति भइरहन्छ ? वा के यो कुनै बेला सकिन्छ पनि ?

पछिल्लो समय सुनको मूल्यमा रेकर्डतोड वृद्धि भएको थियो। सुनको भाउ प्रतिऔँस २ हजार डलर पुगेको छ। 

अब अहिले अन्तर्राष्ट्रिय बजारमा सुन आपूर्ति सकिन लागेको हो ? भन्ने प्रश्नहरु उठ्न थालेका छन्। 

पिक गोल्ड

जानकारका अनुसार ‘पिक गोल्ड’ को कन्सेप्टका विषयमा कुरा गर्न थालेका छन्। गत वर्ष नै मानिसहरुले आफ्ना पूर्ण क्षमताअनुसार सुन निकालिसकका छन्। थुप्रै जानकारहरुका अनुसार उनीहरु अब पिक गोल्ड (अन्तिम विन्दु) सम्म पुगिसकेका छन्। 

वल्र्ड गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा सुनको कुल उत्पादन ३ हजार ५३१ टन भएको थियो। जुन सन् २०१८ को तुलनामा १ प्रतिशतले कम हो। सन् २००८ पछि पहिलोपटक सुन उत्पादनमा कमी आएको काउन्सिलका प्रवक्ता ह्यना ब्रान्डस्टेटर बताउँछन्। उनी भन्छन्, ‘सुन खानीबाट हुने आपूर्तिमा कमी आइरहेको छ, पूर्ण रुपमा खानीबाट सुनको उत्खनन गर्दा पनि आपूर्ति घट्दै गइसकेको छ, नयाँ खानी पनि कमै फेला परेका छन् तर यसको मतलब सुन उत्पादन अन्तिम विन्दुमा पुगिसकेको भन्न अलि छिटो हुन्छ।’ 

जानकारहरु सुन उत्पादन अन्तिम विन्दुमा पुगिहाले पनि आपूर्ति भने विस्तारैविस्तारै घट्दै जाने र यसले दशकौँ समय लिने बताउँछन्। 

मेट्ल्सडेली डट कमका रस नर्मनका अनुसार सुनखानीको उत्पादन स्थिर बनेको छ। ‘सुन उत्पादनमा गिरावट त आइरहेको तर निकै सुस्त छ’, उनले भने। 

खानीमा कति सुन बचेको छ त ?

अमरिकी जियोलाजिकल सर्भेका अनुसार अहिले पनि जमिनमुनि ५० हजार टन सुन रिजर्भ छ। हालसम्म १ लाख ९० हजार टन सुन खानीबाट निकालिसकिएको सर्भेले देखाएको छ। 

केही तथ्यांकहरुले भने खानीहरुबाट अझै २० प्रतिशत सुन निकाल्न बाँकी रहेको देखाएका छन्। तर नयाँ प्रविधिहरुबाट गरिएका सर्भेहरुबाट खानीहरुमा सुनको मौज्दात अझै बढी हुन सक्ने पनि देखिएको छ। 

दक्षिण अफ्रिकाको विटवटर्सर्यान्ड विश्वकै सुनको सबैभन्दा ठूलो स्रोत हो। विश्वभर ३० प्रतिशत सुन यहीँबाट उत्पादन हुन्छ।

चीनमा पनि सबैभन्दा धेरै सुन उत्खनन हुन्छ। क्यानडा, रुस र पेरु पनि सुन ठूला उत्पादक देशहरु हुन्। 

नयाँ खानीहरुको खोजी भइरहेका छन् तर कमै मात्रमा फेला परिरहेका छन्। त्यसैले भविष्यमा पनि पुरानै खानीहरुमा भर पर्नुपर्ने अवस्था देखिएको छ। नर्मन भन्छन्, ‘सुन उत्खनन मुस्किल हुँदै गएको छ, थुप्रै ठूला खानी जुन किफायती छन्, तिनीहरुमा सुन सकिँदै गएका छन्।’ 

धर्तीमा कति सुन बचेको छ, त्यसको सही अन्दाजा लगाउन मुस्किल छ। तर सुन चन्द्रमामा पनि रहेको तर त्यहाँबाट सुन उत्खनन गरी पृथ्वीमा ल्याउन निक महँगो हुने अन्तरिक्ष जानकार सिनेड ओ सुलिवन बताउँछन्। ‘चन्द्रमामा सुन छ तर त्यहाँबाट ल्याउँदा किफायती हुँदैन’, उनी भन्छन्। 

यसैगरी सुन अन्टार्कटिकामा पनि रहेको छ। सुमद्रको तल पनि सुन छ। ती ठाउँबाट सुन ल्याउँदा पनि किफायती नहुने जानकारहरु बताउँछन्। – बीबीसीबाट भावानुवादित