काठमाण्डौ । विगत एकसातादेखि पूँजीबजारमा भइरहेको दैनिकको गिरावट र सोमबार एकैदिन ८९ अंकले बजार घटेपछि अत्तालिएका लगानीकर्तालाई नियामक नेपाल धितोपत्र बोर्डले मल्हम लगाउने कोसिस गरेको छ । 

निरन्तर ओरालो लागेको बजारले लगानीकर्ता अत्तालिएपछि धितोपत्र बोर्डले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै हल्लाको पछि नलाग्न र सुझबुझपूर्ण तरिकाले लगानी गर्न सचेत गराएको हो । 

बोर्डले नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै सूचिकृत संगठित संस्थाहरुले पछिल्लो वित्तीय विवरण प्रकाशन गर्न सुरु गरेका र बाहिर आएका विवरण अनुसार संस्थाहरुको मुनाफाको अवस्था सकारात्मक रहेको देखिएको उल्लेख गर्दै बित्तीय अवस्था र सम्बन्धित कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरी लगानी गर्न आग्रह गरेको छ । 

बोर्डले आफ्ना अधिकारीमाथि लाग्दै आएको आरोपको समेत खण्डन गरेको छ । बोर्डका अधिकारीहरुले गैरकानूनी ढंगले जथाभावी अभिव्यक्ति दिंदा बजारमा नकारात्मक प्रभाव परेको र त्यसैका कारण बजार निरन्तर तल झरिरहेको आरोपको खण्डन गर्दै बोर्डले भनेको छ–‘धितोपत्र बजारको नियमन निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षहरुबारे सुसूचित गराउनु बोर्डको दायीत्व हो । यसलाई चलखेल वा अन्य केही भन्न मिल्दैन ।’ 

‘लगानीकर्ताको हकहित संरक्षण गर्ने, बजार विकासका लागि आवश्यक कार्य गर्ने जस्ता उद्देश्यले पूँजी बजारको नियामक निकायको रुपमा स्थापित बोर्डले धितोपत्र बजारलाई, बजारको सिद्धान्त अनुरुप नै चल्न दिनुपर्छ भन्ने मान्यता राखी आफ्नो कार्य गाडि बढाउदै लगेको छ ।’ बोर्डले विज्ञप्तिमा भनेको छ–‘कारोबार प्रणाली तथा बजारको आकारमा सुधार गरी बोर्डले लगानीकर्ताहरुलाई कारोबारका लागि सहजीकरण गर्दै आइरहेकै छ ।’