– अनत्य सुन्दर

काठमाण्डौ । अपी पावर कम्पनीले जलविद्युतमा मात्र नभएर सोलर र कृषिजन्य क्षेत्रहरुमा लगानी गर्दै आएको छ। अहिले अपी पावर कम्पनीले माथिल्लो चमेलिया जलविद्युत निर्माण गर्दै गरेकाले कम्पनीलाई थप पुँजी आवश्यक परेको छ। झन्डै ७४० करोड रुपैयाँ पुँजीमा ५१८ करोड रुपैयाँ बैंकबाट ऋण र बाँकी रकम भने सेयर धनीबाट सङ्कलन गर्ने लक्ष्य कम्पनीले राखेको छ।

अपी पावर कम्पनीले चैत २५ बाट तेस्रोपटक ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेकाले हिजो कम्पनीको केन्द्रीय कार्यालयमा अपी पावरको संयोजक गुरु प्रसाद न्यौपानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए। सम्मेलनमा न्यौपानेले पत्रकारसँग अन्तर्क्रियाका साथै कम्पनीको योजना, पुँजीलगायत विषयमा छलफलसमेत गरेका थिए।

न्यौपानेले अपी पावरले २०६० सालमा स्थापना भएको र जलविद्युतमात्र नभएर सोलर, कृषि जन्य क्षेत्रजस्ता बहुआयामिक क्षेत्रमा लगानी गर्दै आएको बताए।

‘अपी पावरको ४०० करोड पुँजी भएको ठूला जलविद्युत कम्पनी मद्येको एक हो। कम्पनीको सम्पत्ति, पुँजी, लाभांश, सेयर मूल्य जस्ता विषयहरूमा चर्चा र पर्याप्त सूचना आएको छैन’, न्यौपानेले भने, ‘अपी पावरको सम्पत्ति धेरै भए पनि सेयर मूल्य कम छ। कम्पनीको हकप्रद भर्ने कि नभर्ने भनेर लगानीकर्ता अन्योलमा छन्। पत्रकारले अपी पावरका विषयमा कलम नचलाउँदा धेरै मानिसमा जानकारी र सूचना पुर्याउन सकिरहेको छैनौँ।

हकप्रदका विषयमा अपी पावरद्वारा हिजो आयोजित पत्रकार सम्मेलन धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १६ विपरीत रहेको आशंकामा सेबोनले अध्ययन अघि बढाएको छ। सेबोनका एक उच्च अधिकारीले बोर्डको नियममा सेयर किन्न अभिप्रेरित गर्ने गरी प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको बताए। ‘बोर्डको सुपरिवेक्षण विभागले हिजो अपी पावर कम्पनीले आयोजना गरेको पत्रकार सम्मेलनबारे के भएको भन्नेबारे अध्ययन अघि बढाएको छ’, ती अधिकारीले भने। 

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम १६ मा ‘प्रचारप्रसार गर्न नपाइने’ शीर्षकको उक्त नियममा ‘यस नियमावलीबमोजिम प्रकाशन गरिने विवरणपत्र, आह्वानपत्र, हकप्रद सेयरसम्बन्धी विवरण, बिक्री प्रस्ताव तथा बोर्डले विवरण तयार गरी पेस गर्नु पर्ने भनी तोकेको अन्य विवरणहरुमा निष्कासनसम्बन्धी सूचना वा जानकारीबाहेक संगठित संस्थाको अन्य वस्तु वा सेवाको प्रचारप्रसारसम्बन्धी कार्य गर्न पाइने छैन’, भनिएको छ।

कम्पनीका सञ्चालक गुरुप्रसाद न्यौपानेले हिजो आयोजित कार्यक्रम प्रचारप्रसार नभएर सेयरधनीहरुलाई जानकारी गराउनका लागि आयोजना गरिएको बताए। ‘हाम्रो कम्पनीमा १ लाख बढी सेयरधनी हुनु हुन्छ। त्यसैले हामीले बेला–बेलामा यस्तो कार्यक्रम गरी रहेको छौँ’, उनले भने।

‘बुक क्लोजका साथै मूल्य समायोजन पनि भइसकेको छ। तर धेरैलाई सूचना पुगेको छैन’, न्यौपानेले भने, ‘सूचनाको हक मानिसको फन्डामेन्टल राइट हो। त्यसैले जानकारी गराउनका लागि भेला गरिएको हो।’