काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली(एनआरएन)हरुको धितोपत्र बजारमा प्रत्यक्ष रुपमा लगानी गर्ने बाटो खुलाउने प्रयास थालेको छ ।

हालसम्म धितोपत्र बजारमा गैरआवासीय नेपालीले प्रत्यक्ष रुपमा लगानी गर्ने व्यवस्था छैन ।

धितोपत्रको दोश्रो बजारमा एनआरएनले सहज रुपमा प्रवेशका लागि पटक–पटक माग गर्दै आइरहेको र विगतको बजेटमा धितोपत्र बजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको परिप्रेक्ष्यमा धितोपत्रको दोश्रो बजारमा एनआरएनलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि बनाउन आवश्यक देखिएको धितोपत्र बोर्डले जनाएको छ । 

यही आवश्यकतालाई महसुस गरी एनआरएनको लगानी धितोपत्र बजारमा भित्र्याउनका लागि कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न धितोपत्र बोर्डको नियमन तथा व्यवस्थापन विभागका कार्यकारीनिर्देशकको संयोजकत्वमा बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक र नेप्सेका पदाधिकारी सदस्य रहने गरी एक समिति गठन गरिएको छ । यो समितिमा एनआरएनको प्रतिनिधि समेत सहभागिता रहने बताइएको छ । 

यो समितिले एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्नेछ । यसको कार्यान्वयनपश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बोर्डको विश्वास छ ।   

गत माघ २०७२ देखि धितोपत्रको दोस्रो वजार कारोवार अभौतिकिकरण भई धितोपत्र बजारको क्षेत्र समेत विस्तार हँुदै गइरहेको छ ।