काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटार सर्ने भएको छ।

धितोपत्र बोर्डलाई कार्यालय सञ्चालनका लागि ३ ठाउँबाट घरभाडाका लागि प्रस्ताव आएको थियो। सोहीमध्येबाट खुमलटारस्थित एउटा घर फाइनल गरी जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अनुमति माग्ने प्रक्रियामा रहेको बोर्डका एक अधिकारीले बताए। ‘हामीले खुमलटारमा कार्यालय सर्दा दसैंतिहारपछि सर्ने भएका छौँ तर कार्यालय स्थानान्तरणका लागि भने जिल्ला प्रशासन कार्यालयले अनुमति दिनुपर्ने नियम भएकाले हामी अनुमतिको पर्खाइमा छौँ।’

यदि जिल्ला प्रशासनले कार्यालय स्थानान्तरण गर्ने अनुमति दिएमा वार्षिक ९ लाख रुपैयाँ भाडा तिर्ने गरी खुमलटार सर्ने पनि ती अधिकारीले बताए। 

विगत करिब ९ वर्षदेखि हाल बोर्डको कार्यालय ललितपुरकै जावलाखेलमा अवस्थित छ। हाल जावलाखेलमा रहेको कार्यालय भवनमा कर्मचारी संख्या बढ्दै गइरहेका र पार्किङसमेत साँघुरो हुँदै गइरहेको छ। 

विगत ३ वर्षदेखि ३ पटक बोर्डको कार्यालय सञ्चालन प्रयोजनका निम्ति घरभाडा आवश्यक रहेको विषयमा सूचना जारी गरे पनि यसपालि भने घरको टुंगो लागेको हो।