काठमाण्डौ । अब सूचीकृत कम्पनीहरुले आफ्नो वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत नेपाल धितोपत्र बोर्डमा पेस गर्न सक्ने भएका छन्। 

विश्व लगानीकर्ता सप्ताह २०२० अन्तर्गत बोर्ड सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले नियमन व्यवस्थाअनुरुपमा बोर्डमा पेस गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत पेस गर्न सक्ने प्रणाली इलेक्ट्रोनिक रिपोर्टिङ एन्ड रिट्रिइभल सिस्टम (ईआरआरएस) प्रयोगमा ल्याएको हो। यो प्रणाली प्रयोगमा आएसँगै अब बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निष्कासनकर्ता एवं सूचीकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरण पेस नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत अद्यावधिक वित्तीयलगायतका विववरण पेस गर्न सक्नेछन्। 

यो प्रणालीको सुरुआत तथा अनावरण बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रबार गरेका थिए। यो प्रणालीको विकाससँगै अब नियमन व्यवस्थाअनुरुप सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत न्यून प्रयास र लागतमा प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ। 

ईआरआरएसको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमनको परिपालना कार्य सहज हुने बोर्डले विश्वास लिएको छ। 

यसैगरी बोर्डले गत शुक्रबार विशेषतः धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्थीहरु र आमलगानीकर्तालाई लक्षित गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० तयार गरी प्रकाशन गरेको छ। पुस्तकमा वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रक्रिया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शब्दावली आदि समेटिएका छन्। यसले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानीसम्बन्धी सुसूचीत निर्णय लिन सहज हुनेमा बोर्ड विश्वस्त रहेको छ।