काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको बुधबारबाट नियमित कारोबार खुलेको छ। 

आज स्पेसल प्रिओपन सेसनमा (बिहान १०ः३० देखि १०ः४५) सानिमा जनरलको ३११ रुपैयाँमा २० कित्ता सेयर कारोबार भएसँगै नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) कारोबार हुने भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जनरललाई ‘एसजीआई’ कोड र  पहिलो कारोबारका निम्ति रु. १०३.७३ देखि रु. ३११.१९ सम्म मूल्य रेन्ज प्रदान गरेको थियो। नेप्सेले तोकेकै रेन्जभित्र कारोबार भएपछि यो कम्पनीको नियमित कारोबार खुलेको हो।

नेप्सेमा हिजो मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको थियो। नेप्सेमा सूचीकरण भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कुनै पनि कम्पनीको सेयर धितोपत्र दोस्रो कारोबारमा आउने गर्छ। सोहीअनुसार सानिमा जनरल इन्स्योरेन्सको पनि सेयर पनि आजबाट कारोबारमा आएको हो। 

चुक्तापुँजी १ अर्ब पुर्याउन यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।