काठमाण्डौ । लगानीकर्ताहरुले शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डमा प्रदर्शन गरेका छन्।

ब्रोकर कमिसन घटाउनुपर्ने मुख्य मागसहित लगानीकर्ताहरुले प्रदर्शन गरेका हुन्। बोर्ड परिसरमा जारी प्रदर्शन लगानीकर्ताका विभिन्न खाले संघसंगठन नेता तथा तिनमा आबद्ध लगानीकर्ताहरु सहभागी छन्। 

हातहातमा प्लेकार्ड बोकेर सहभागी भएका लगानीकर्ताहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत कायम हुनुपर्ने, सेयर कारोबारमा लगानीकर्ताले गरेको लगानी कमिसनका रुपमा चारैतिर जाने प्रथा अन्त्य हुनुपर्ने, २० करोडको कारोबार हुँदा कायम ब्रोकर कमिसन करिब १० अर्बको कारोबार हुँदासमेत पहिलेकै दर कायम भएकोमा त्यो तत्काल खारेज हुनुपर्ने, पुँजी बजार बढ्न थालेपछि विज्ञप्ति जारी गरी लगानीकर्तालाई आतंकित पार्ने काम बन्द हुनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

नेपाल इन्भेस्टमेन्ट फोरमको नेतृत्वमा भएको प्रदर्शनप्रति लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई ज्ञापनपत्रसमेत बुझाउँदैछन्। 

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार बोर्डको प्रदर्शन सकिएपछि लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकसमेत जान कार्यक्रम छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको सीमा घटाउने घोषणा गरेको थियो। राष्ट्र बैंकको अस्थिर नीतिका कारण बजार प्रभावित हुने भन्दै लगानीकर्ताहरुले त्यहाँ पनि ज्ञापनपत्र बुझाउन लागेका हुन्।