काठमाण्डौ । स्टक ब्रोकर(धितोपत्र दलाल व्यवसायी)हरुले आज नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।

आज आइतबार बिहान १० बजे ५० ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यले हालसालै भएको ब्रोकर कमिसन कटौतीका विरुद्ध बोर्डसमक्ष ज्ञापनपत्र बुझाउँदै जावलाखेलस्थित बोर्ड घेराउ गरेका हुन्।

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार आज धितोपत्र बोर्डसँग भर्खरै डेढ घण्टा लामो वार्ता सकिएको छ । 

हाल कायम नयाँ ब्रोकर कमिसनले ब्रोकरेज व्यवसाय नै धान्न मुश्किल पर्ने र दीर्घकालसम्म सस्सटेन गर्न गाह्रो पर्ने भएकाले ५० ब्रोकर कम्पनीका सदस्यहरुले नै बोर्डसमक्ष ज्ञापनपत्र बुझाएका उनले जिकिर गरे । 

नयाँ ब्रोकर कमिसनका विषयमा पुर्नविचार गर्न र ब्रोकरेज इण्डष्ट्रीका अन्य सेवाहरु पनि प्रवाह गर्न पाउनुपर्ने माग राखेको उनले जानकारी दिए । पूँजीबजारलाई अनिश्चिता पैदा गर्ने लगायतका विषयमा सजग हुन बोर्ड समक्ष आग्रह गरेको उनले बताए ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारमा ब्रोकर कमिसन कटौती गर्दा नियामकको चाहिँ कमिसन कटौती नगरी ब्रोकर कमिसन मात्र घटाएका कारण धितोपत्र बोर्ड घेराउ गर्न बाध्य भएको एक ब्रोकरले बिजशालासँग बताए । अहिले पनि ब्रोकरको लागत घट्नुका सट्टा बढिरहेको जिकिर गर्दैै नियामकले आफ्नो कमिसन नघटाएकाले बाध्य भएर विरोध जनाएको ती ब्रोकरको भनाइ छ ।

आज पुस १२ गते आइतबारदेखि नै नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन न्यूनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशत लागू गरेको छ ।

यसअघि ब्रोकर कमिसन न्यूनतम ०.४ प्रतिशतदेखि ०.६ प्रतिशतसम्म कायम रहेकोमा बोर्डले आजैदेखि लागू हुने गरी ३३ प्रतिशत कमिसन कटौती गरेको हो, जहाँ नियामक धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको कमिसन भने यथावत छ ।