माण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई  सूचीकृत संगठित संस्थाहरुको वित्तीय विवरण पारदर्शी रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ। 

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (२) मा सूचीकृत कम्पनीबाट प्राप्त वित्तीय विवरणका साथै धितोपत्रको मूल्यमा असर पर्ने प्रकृतिका कुनै पनि सूचना, जानकारी तथा विवरण धितोपत्र बजारले सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सूचीकृत कम्पनीहरुले वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन तथा प्रमुख वित्तीय सूचकांकहरुलगायत सूचना जानकारी नेप्सेले आफ्नो वेबसाइटमा नराख्ने गरेको पाइएपछि बोर्डले यस्तो निर्देशन दिएको हो। 

धितोपत्रमा लगानी गर्नका लागि सूचना अतिआवश्यक हुने भएकोले सूचीकृत कम्पनीहरुले नेप्सेमा पेस गरेका वार्षिक प्रतिवेदनलगायत विवरण, प्रतिवेदन, सूचना तथा जानकारीसमेत नेप्सेको वेबसाइटमा अनिवार्य रुपमा बोर्डले निर्देशन दिएको छ। त्यस्ता विवरण अध्ययन तथा विश्लेषण गरी सुसूचित भई लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको हित संरक्षण गर्नका लागि उपयुक्त आधार तयार हुने बोर्डको ठहर छ।   

सूचीकृत कम्पनीबाट प्राप्त वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदनसहित ती प्रतिवेदनमा उल्लेख भएका प्रमुख वित्तीय सूचकांकहरु लगाीकर्ताहरुले समेत हेर्न सक्ने गरी आफ्नो वेबसाइटमा राख्ने व्यवस्था मिलाएपछि त्यसबारे बोर्डलाई जानकारी पठाउन पनि धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको छ। 

यसका साथै बोर्डले सूचीकृत कम्पनीहरुको कम्तीमा पछिल्लो ५ वर्षको प्रमुख वित्तीय परिसूचकहरु जस्तै– संस्थाको पुँजी, वार्षिक आम्दानी, खर्च, जेगडा कोष, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थ, लाभांशलगायतका महत्वपूर्ण विवरणको चाटसहित प्रोफाइल तयार गरी आफ्नो वेबसाइटमा हाल्न नेप्सेलाई निर्देशन दिएको छ।