काठमाडौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत चौथो योजनाका रुपमा ‘एनआईबीएल समृद्धि फन्ड-२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ। 

नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक तथा एनआइृबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेका यस योजनाको आकार रु. १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म सञ्चालनमा रहनेछ। प्रतिइकाइ मूल्य रु. १० दरको १२ करोड इकाइमध्ये बीजपुँजीबापत १० लाख इकाइ योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोष प्रवर्द्धकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ। 

यस योजनाको अवधिभर सामूहिक लगानी कोष नियमावलीे एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही इकाइ बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाइधनीलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उद्देश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलका रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाइधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ। साथै, यस योजनाको इकाइहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म इकाइहरु दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नेपालको पुँजी बजारमा सामूहिक लगानी कोषअन्तर्गत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आफू कोष प्रवर्द्धक रही बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबीएल म्युचुअल फन्ड’ नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी हाल दुईवटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको छ। एनआईबीएल म्युचुअल फन्डको पहिलो योजना ‘एनआईबीएल समृद्धि फन्ड-१’ सफलतापूर्वक सञ्चालन गर्दै यस योजनाका इकाइधनीलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पूरा भई योजना बन्द हुनेछ।