काठमाण्डौ । नबिल बैंकले काठमाण्डौ धुम्बाराही तरकारी तथा फलफूल बिक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले मंगलबार बिहान केही तरकारी खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन्। अब धुम्बराही तरकारी तथा फलफूल केन्द्रमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन्। 

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापन कर्मचारीहरु र धुम्बराही तरकारी तथा फलफूल केन्द्रका कार्यकारी सदस्यहरु एवं बिक्री केन्द्रका व्यवसायीहरुको उपस्थिति थियो। 

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि एउटा तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए। 

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ। छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लोपटक उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन्।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो। अहिले बैंकका साथमा देशभर ३ हजारभन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठान छन्। जुन हरेक दिन बढिरहेका पनि छन्। 

कार्यक्रममा कार्यकारी निर्देशक कँडेलले भने, ‘विगतका दिनमा भुक्तानीका लागि क्यूआर कोडहरूको प्रयोग बजारमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। यसका लागि नबिल बैंकजस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानीसक्षम गर्न सक्रिय भूमिका खेलिहेका छन्।’

यसैगरी नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए। उनले भने, ‘नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो। जसलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदानका रूपमा लिन सकिन्छ। क्यूआरमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नबिल बैंकले देशभर क्यूआर भुक्तान सेवाको पहुँच विस्तार गर्न एउटा मिसन सुरु गरेको छ।’

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो। ंनयाँ प्रविधि अपनाउने र नवीन प्रडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैँ नै अगाडि रहेको छ। 

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामलाई डिजिटलमार्फत सेवा पुर्याइरहेको छ। बैंकले ग्राहकको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ। बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ। नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ।