काठमाण्डौ । जुलेबीको नाम सुन्नेबित्तिकै तपाईंको मुखमा पानी आउनसक्छ । मिठो खानेकुरा खान मन लागेमा अधिकांशको पहिलो रोजाई हो जुलेबी(जेरी) ।
देशका हरेक गल्ली र बस्तीमा खालखालका जुलेबीको स्वाद लिन पाइन्छ । हेर्दा पूर्णतया गोलो, खानामा क्रिस्पी, रातो जुलेबी बालबालिकादेखि बूढापाकासम्मलाई मन पर्छ ।
जुलेबी नपाइने सहर शायदै होला । जुलेबी देशका प्राय सबै सहरमा पाइन्छ । कतै पुरीसँग जुलेबी खाइन्छ भने कतै जुलेबीलाई दूध र दहीसँग पनि खाने गरिन्छ । देशका विभिन्न शहरहरुमा हुने पार्टीहरुमा डेजर्टको रुपमा पनि जुलेबीको प्रयोग बढ्दो छ ।
नेपालबाहेक जुलेबी भारत, पाकिस्तान, बंगलादेश र इरानका साथै धेरै अरब देशहरूमा एक लोकप्रिय परिकार हो। यद्यपि यो मिठाईलाई भारतको राष्ट्रिय मिठाई मानिन्छ तर जुलेबी भारतीय मिठाई होइन भन्ने थाहा पाउँदा छक्क पर्नुहुनेछ।
यो भारतभन्दा अरु कुनै मुलुकबाट त्यहाँ आयात भएको मिठाई हो, जुन आजको दिनमा भारतको पनि हरेक कुनामा प्रसिद्ध छ । नेपालमा पनि उस्तै । जुलेबीको इतिहास पनि त्यस्तै सरल छ ।
कहिले र कहाँबाट सुरु भयो त जुलेबी ?
जुलेबी सामान्यतया सादा बनाइन्छ। तर मानिसहरु पनीर वा खुवा जुलेबी पनि खुबै खान्छन् । वर्षा र जाडोमा तातो तातो जुलेबी खानुको आफ्नै मज्जा छ ।
जुलेबीको इतिहास आजभन्दा करिब ५ सय वर्ष पुरानो हो । इरानमा जुलेबीलाई जुलाबिया वा जुलुबिया भनेर चिनिन्छ। टर्की आक्रमणकारीहरूसँग जुलेबी भारत पुग्यो। यसपछि जुलेबीको नाम, बनाउने विधि र स्वाद परिवर्तन हुँदै गयो । भारतमा चर्चित बनेको जुलेबी बनाउने विधि र फरक फरक स्वाद नेपालमा पनि भित्रियो ।
भारतमा १५ औं शताब्दीसम्ममा जुलेबी हरेक चाडपर्वमा प्रयोग हुने विशेष परिकार बनिसकेको थियो। मन्दिरमा पनि प्रसादको रुपमा दिइने गरेको छ । जुलेबी शब्द अरबी शब्द ‘जलाबिया’ वा फारसी शब्द ‘जलिबिया’बाट आएको हो। मध्ययुगीन पुस्तक ‘किताब–अल–ताबिक’ मा ‘जलाबिया’ भन्ने मिठाईको वर्णन गरिएको छ। जुन पश्चिम एसियाबाट आएको शब्द हो।
नाम फरक-फरक
उत्तर भारतमा यसलाई जलेबी भनिन्छ भने दक्षिण भारतमा यसलाई ‘जिलेबी’ भनेर चिनिन्छ। बंगालमा यो नाम बदलेर ‘जिल्पी’ राखिएको छ। गुजरातमा दशहरा र अन्य चाडपर्वहरूमा जुलेबी खाने चलन पनि छ। नेपालमा भने जुलेबी वा जेरीको नामले पनि यसलाई चिनिन्छ ।
नेपाल र भारतका विभिन्न स्थानहरुमा जुलेबीका धेरै प्रजाति प्रख्यात छन्। इन्दौरको रातको बजारबाट बडे जलेबा, बंगालको चनार जिल्पी, मध्य प्रदेशको मावा जाम्बी वा खोवा जलेबी, आन्ध्र प्रदेशको इमरती वा झांगिरी, मुगल सम्राट जहाँगीरको नामबाट नामाकरण गरिएको हो।
भारतकै इन्दौर सहरमा ३०० ग्राम तौलको जलेबा पाइन्छ। जुलेबीको मिश्रणमा पिसेको पनीर हालेर पनीर जुलेबी बनाइन्छ भने जुलेबीको मिश्रणमा दूध मिसाएर ‘चनार जिल्पी’ बनाइन्छ। जुलेबी भारतमा मात्र नभई अन्य धेरै देशमा पनि खाने गरिन्छ । लेबनानमा, ‘जेलाबिया’ लामो पेस्ट्री हो। इरानमा जुलुबिया, ट्युनिसियामा जलाबिया र अरबमा जलेबीलाई जलबिया भनेर चिनिन्छ।
नेपालमा पछिल्लो समय ठूलो शहरका सपिङ मल तथा छेउछाउमा सानो र क्रिस्पी जुलेबी खाने फेसन नै चलेको छ ।
विशेषगरी तराई र भित्री शहरहरुमा ठूलो आकारमा जुलेबी पाइन्छ भने ठूला शहरहरुमा महङ्गो मूल्य पर्ने सानो आकारको जुलेबी प्रख्यात छ ।
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago