काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अचाक्ली आकर्षण देखिएको छ। आज बुधबार बिहानसम्म यो आईपीओ साढे २६ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

धौलागिरी लघुवित्तले हिजो साउन २४ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म यो आईपीओमा ७ लाख २२ हजार १०७ आवेदकबाट कुल ८२ लाख ३५ हजार ६०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २६.६३ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै ५ आवेदकले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्छन्।

धौलागिरी लघुवित्तको आईपीओमा यही साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ ७ गतेसम्म खुला गरिनेछ। 

धौलागिरी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।