काठमाण्डौ । अमेरिकामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को चार्टर्ड विमान आउन रोक लगाइएको छ।

हालै पीआईएका अधिकांश पाइलटहरुको लाइसेन्स नक्कली भएको खबर सार्वजनिक भएको थियो। सोही विषयलाई लिएर फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले चिन्ता व्यक्त गरेपछि अमरिकी परिवहन मन्त्रालयले अमेरिकामा पीआईएको चार्टर्ड विमान आउन रोक लगाएको हो। 

पाकिस्तनी टीभी च्यानल जियो न्युजले पनि पीआईएको उडान अमेरिकामा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ। जियो न्युजले यो एयरलाइन्समा देखिएको आन्तरिक समस्या सुल्झाउने प्रयास भइरहेको जानकारी दिएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना भएको छानबिनका क्रममा पीआईएका एक तिहाइ पाइलटको लाइन्सेन्स नक्कली भएको फेला परेको थियो। यही कारण युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सीले पनि पीआईएको सञ्चालन ६ महिनाका लागि रोकेको छ। 

यद्यपि यस विषयमा पीआईएको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। – एजेन्सी