काठमाण्डौ ।  नेपाल राष्ट्रबैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । 

एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्तापुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्तापुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्तापुँजी करिब २३ अर्बको हुनेछ ।

पौष मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्ब भन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसन पश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुन आउनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरुमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मद्दत पुग्ने देखिन्छ । 

यसैगरी ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोड भन्दा बढी तथा एनबी बैंकको ८१ करोड भन्दा बढी रहेकोमा एक्विजिसन पश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ । 

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।