काठमाण्डौ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ। प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए। ‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौँ’, उनले भने। 

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष रु. ३२ अर्ब ६८ करोड हुनेछ। यसका साथै नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ र एटीएम संख्या भने १८३ हुनेछ। चैत मसान्तको वित्तीय विवरणअनुसार निक्षेपको आकार रु. २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु. २०१ अर्ब हुनेछ। 

यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार रु. २ खर्बमाथि हुनेछ। यो प्राप्तिसँगै नबिल बैंकले बजारमा आफ्नो नवीन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनीतिअनुसार बजारमा उपस्थित हुनेछ।