काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) प्राप्ति गर्ने सैद्धान्तिक स्वीकृति दिने विषयमा छलफल बढाएको छ। 

नबिललाई एनबी प्राप्ति गर्ने स्वीकृति दिने विषयमा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा छलफल भइरहेको हो। ‘सञ्चालक समितिले सैद्धान्तिक सहमति दिन २–३ पटक बैठकमा छलफल गरिसकेको छ’, स्रोतले भन्यो। 

राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले नबिललाई एनबी प्राप्ति गर्ने सैद्धान्तिक सहमति दिने विषयमा सञ्चालक समितिको बैठकमा छलफल भएको बताए। ‘तर, सैद्धान्तिक सहमति दिने विषयमा निर्णय भइसकेको छैन’, उनले भने। 

राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृतिपछि मात्र सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए)को मूल्यांकन प्रक्रिया अगाडि बढ्नेछ। प्राप्तिसम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गरेर आउँदो असारभित्रै एकीकृत कारोबार गर्ने तयारीमा दुवै बैंक रहेका छन्। 

नबिलले एनबीलाई प्रतिसेयर ४३ रुपैयाँका दरले गाभ्नेछ। प्राप्ति गर्ने सम्बन्धमा गत पुस २९ गते नबिलले एनबीसँगै प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।