काठमाण्डौ । नेपालकै अग्रणी वाणिज्य बैंक नबिल बैंक र एक लगानी प्रबर्धन कम्पनी वान टु वाचले संयुक्त रूपमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ।

यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमलाई कोभिडबाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितोरहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविडको प्रभावविरुद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन मद्दत हुनेछ। त्यसैगरी यी व्यवसायहरुमध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसायअनुकूल परामर्श पनि प्राप्त गर्नेछन्। 

पूर्वनिर्धारित मापदण्डका आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितोरहित कर्जा प्राप्त गर्नेछन् र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ।

नबिल बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सो कार्यक्रममा नबिल बैंकका तर्फबाट एसएमई र लघुवित्त प्रमुख निरज बस्नेत डनिल र वान टु वाचकातर्फबाट कार्यक्रम प्रबन्धक सुब्रिना श्रेष्ठको उपस्थिति थियो।

साझेदारीका बारेमा नबिल बैंकका सीईओ अनिल केशरी शाहले नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैव तयार रहेको बताए। ‘कोभिड प्रभावित व्यवसायलाई यस कठिन समयमा बाँच्नका लागि सहयोग पुर्याउन र निरन्तरता दिई सक्षम हुन धितोरहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचका साथ सहकार्य गर्न धेरै उत्साहित छौँ’, उनले भने, ‘नबिल बैंकले लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँच पुर्याउन सजिलो बनाउने सेवाहरू ल्याएर एमएसएमई क्षेत्रको प्रबर्धनमा सदैब केन्द्रित रहेको छ।’

वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले आफूहरु नबिल बैंकलाई पार्टनर बैंकहरूको सूचीमा राख्न पाउँदा अत्यन्त खुशी रहेको बताए। ‘केही हप्ताअघि यो कोषको थालनी भएदेखि हामीले नेपालका विविध क्षेत्र तथा विभिन्न भूगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रियाप्राप्त गरेका छौँ’, उनले भने, ‘नबिल बैंकको सहभागितामा एसएमईलाई यस कठिन समयमा अघि बढ्न र रोजगारी जोगाउन तथा सिर्जना गर्न अझ मद्दत गर्नेछ।’

लघु, साना तथा मझौला उद्यमले कोषका लागि https://rb.gy/8jqzxg रहेको आवेदन फारम भरी कर्जा आवेदन गर्न सक्छन्।