काठमाण्डौ । दिगो बैंकिङअन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी) नेपालको आयोजनामा काठमाण्डौमा सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरु प्राप्त गर्ने’ विषयमा सञ्चालित दुईदिने कार्यशालाको प्रायोजन गरेको छ। 

नबिल बैंकका तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र अभियानका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए। युवा उद्यमशीलतामार्फत दिगो विकास लक्ष्यहरु प्राप्त गर्न आयोजित कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमीलगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए। 

उत्कृष्ट अवधारणा अभियानद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ। उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

कार्यशालामा नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलतामार्फत आर्थिक वृद्धि तथा दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्ने बताउनुका साथै बैंकमा दिगो बैंकिङसम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको जानकारी गराए। नबिल दिगो बैंकिङले उद्यमशीलतासम्बन्धी तालिम तथा वित्तीय साक्षरतासम्बन्धी काम गर्दै आउनुका साथै महिला, किसान र युवाका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ। यसका साथै युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउँदा खुसी लागेको समेत बजगाईंले बताए। 

कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले ‘बजार कहिल्यै मर्दैन– उद्यमशीलता कहिल्यै मर्दैन’ भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए।

कार्यक्रममा नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्वारा सञ्चालित व्यवसाय तथा उद्यमलाई प्रवर्द्धन गर्नुपर्ने बताइन्।