काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नबिल बैंक र एनआईसी एसिया बैंकले ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

बोर्डले नबिल बैंक र एनआईसी एसिया बैंकलाई ३/३ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो। 

बोर्डको अनुमतिसँगै अब नबिल बैंकले १ हजार रुपैयाँ अंक दलका कुल ३० लाख इकाइ भएको ‘नबिल डिबेन्चर २०८५’ निष्कासन गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। यसमा लगानीकर्ताहरुले ८ प्रतिशत वार्षिक ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। 

नबिल बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। 

यसैगरी एनआईसी एसिया बैंकले पनि १ हजार रुपैयाँ अंक दलका कुल ३० लाख इकाइ भएको ‘एनआईसी एसिया डिबेन्चर २०८७’ निष्कासन गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

यो ऋणपत्रको अवधि ९ वर्षको रहेको छ। यसमा लगानीकर्ताहरुले ८.५ प्रतिशत वार्षिक ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ। 

एनआईसी एसिया बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।