काठमाण्डौ । नबिल बैंकले ललितपुर महानगरपालिका वडा नं. २१ खोकनामा डिजिटल बंैकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशीलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवर्द्धनमा केन्द्रित रहेको थियो।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरुका बारेमा विशेष प्रस्तुति दिएको थियो। खोकनाका वडा सदस्य, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, किसान तथा उद्यमीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी र खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो।

कार्यक्रममा विशेष वक्ताका रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाको उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैँ तत्पर रहेको बताए। 

ललितपुर–२१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले यस कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्दै खोकनावरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए। 

कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रवर्द्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधैँ तत्पर रहेको बताए। 

नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुआत गरेको हो। सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ। 

दिगो बैंकिङअन्तर्गत किसान कर्जा र उद्यमशील कर्जामार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ। 
यसका साथै नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत बैंकले देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।