– रेखा चन्द

काठमाण्डौ । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल सामाजिक उद्यमशीलता कार्यक्रम’को पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सहभागीहरुलाई बिदाइ गरेको छ। 

बैंकले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो। 

सोही अवसरमा बैंकले उक्त कार्यक्रमको दोस्रो ब्याचका लागि छनौट भएका २० जनालाई पनि स्वागत गरेको छ।  

बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल आन्टरप्रेनरसिप इन्डियाको प्राविधिक सहयोगमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ गत वर्षदेखि यो कार्यक्रम सञ्चलनमा ल्याएको हो।

बैंकको यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुआत गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। सोहीअनुसार बैंकले पहिलो ब्याचमा विभिन्न क्षेत्रमा नवीनतम सोच भएका २० जनालाई छनौट गरेको थियो। तर, १८ जनाले मात्रै उक्त कार्यक्रमलाई पूर्णता दिएका थिए। उनीहरुलाई सामाजिक उद्यम सञ्चालनका लागि आवश्यक कानुनी तथा करसम्बन्धी ज्ञान, व्यावसायको ब्रान्डिङ, बजारीकरणलगायतका विषयमा तालिम प्रदान गरिएको थियो।

त्यसैगरी बैंकले तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्थासहित व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गर्नेछ। 

यो कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याएर दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ। फेलोसिप कार्यक्रममा सहभागीहरुले बैंकको उक्त कार्यक्रमले आफूलाई धेरै सहयोग पुर्याउनुका साथै उद्यम गर्न धेरै सहयोग गरेको बताए। आफूसँग कुनै योजना नभएका बेला बैंकले ल्याएको यस्तो प्लेटर्फममा उपस्थित भएपछि धेरै नै परिवर्तन र आँट आएको उनीहरुको धारण छ। आगामी दिनमा पनि यस्ता कार्यक्रममा जोड दिइनुपर्ने उनीहरुको भनाइ थियो।

पहिले आफूलाई उद्यमको बारेको केही थाहा नभएको र नबिलको कार्यक्रममा जोडिएपछि आफूले धेरै कुरा सिक्ने अवसर पाएको फेलोसिप कार्यक्रममा सहभागी भएकी दीक्षा पौडेल बताउँछिन्। ‘म एकदमै फरक क्षेत्रमा थिए, उद्यमशीलताका बारेमा केही थाहा थिएन, बिजनेस ब्याकग्राउन्डको विद्यार्थी पनि होइन, मेरो घरपरिवारमा उद्यमशीलता कसैले गर्नुभएको पनि छैन’, उनले भनिन् ‘तर, मेलै भने आफ्नो प्रडक्ट बजारमा लानैपर्ने थियो, यसैबीचमा एकदमै भौँतारिरहेको अवस्थामा नबिलको यो कार्यक्रममा जोडिन पुगेँ, सुरुमा त उद्यमशीलतासम्बन्धी केही कुरामात्रै सिक्न पाइन्छजस्तो लागेको थियो तर अहिले मलाई यो कार्यक्रमले आफ्नो प्रडक्ट लन्च गर्ने स्टेजमा पुर्याएको छ, अहिले ब्रान्डिङमा काम हुँदैछ।’

दीक्षाले बिजनेस प्लान, टेक्निकल नलेज, आइडिया, मार्केटिङ, बिजनेस रिस्कलाई कसरी ह्यान्डल गर्नेलगायत सबै कुरा नबिलको उक्त कार्यक्रमबाट सिक्न पाएको बताइन्। ‘नबिलको यो कार्यक्रम धेरै नै प्रभावकारी रहेको छ’, उनले भनिन्। 

यस्तै इलामका यमबहादुर कार्की बैंकको फेलोसिप कार्यक्रमले आफूलाई अहिले उद्यमीको पहिचान दिएको महसुस गरेको बताउँछन्। ‘हाम्रो समाजमा धेरै समस्या छन्, युवापुस्ता दिनदिनै विदेसिनु परिरहेको छ, बस्तीहरु उजाडिएका छन्, घरहरु वृद्धाश्रमजस्ता बन्दै गएका छन्, यो तीतो यर्थात हो’, उनले भने, ‘म पनि ५ वर्षअघि १ दशक टिचिङको पेसामा रुमलिएको थिएँ, चाडपर्वको बेला घर जाँदा पहिलेको जस्तो गाउँघर लाग्दैनथ्यो, साथीहरु रोजगारीका विदेश अनि घरमा चाहिँ वृद्ध बुवा–आमामात्रै हुन्थ्ये, त्यसले मलाई कताकता नरमाइलो लाग्यो, त्यसपछि मैले गाउँमै फर्किएर कफीखेतीका माध्यमबाट गाउँमा रोजगारी सिर्जना गरी आर्थिक गतिविधि बढाउने निर्णय गरेँ।’

त्यतिबेला आफूलाई योजना, बजारको ज्ञान, पहुँचलगायत केही कुराको ज्ञान नरहेको कार्कीको भनाइ छ। ‘बजारका ज्ञान नहुँदा अन्धाधुन्ध काम गर्दा बिचौलियाको हातमा परियो, उनीहरुले उत्पादन भएको कफीलाई ल्याएर बेचे, त्यतिबेला न हाम्रो पहिचान थियो न त दाम नै थियो, कसरी अगाडि बढ्ने कुनै योजन थिएन’, उनले भने, ‘जब नबिलको कार्यक्रममा जोडिएर अहिलेसम्म आउँदा उत्पादित वस्तु बजारमा आइसकेको छ।’ 

नबिल एसएसईले उद्यमीमात्रै नभएर उद्योगी बनाएरै छाड्ने कार्कीको भनाइ छ। 

कार्यक्रममा सहभागी भएकाहरुले आफ्नो उत्पादनको स्टलसमेत राखेर प्रदर्शन गरेका थिए। 

कार्यक्रममा नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले सहभागीहरुले आफ्नो प्रडक्टका बारेमा कन्फिटेडका साथ बुझाइरहँदा बैंकलाई सफलतामा पुर्याएको बताए। 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्यमी पैदा गर्ने आफूहरुको उद्देश्य रहेकाले यो अभियानलाई साकार पार्न आफूहरु प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले युवापुस्तामा उद्यमशीलताको विकास गर्न यस किसिमको कार्यक्रमको परिकल्पना गरिएको बताए। ‘यो कार्यक्रमले युवामा नयाँ–नयाँ बिजनेस आइडिया बनाउन मद्दत पुर्याउने हामीले विश्वास लिएका छौँ’, उनले भने। 

सोही अवसरमा दोस्रो चरणको फेलोसिप कार्यक्रम सञ्चालनका लागि नबिल बैंक र त्रिविबीच फेरि सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट सीईओ ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्ष निर्वाण चौधरी तथा त्रिविका तर्फबाट उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र प्राडा डिन डिल्लीराज शर्माले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा पहिलो चरणमा सहभागी भएकाहरुलाई उपाध्यक्ष चौधरी र प्राडा बास्कोटाले प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए।