काठमाण्डौ । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकका आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता गरेको छ।

यस रणनीतिक साझेदारीअन्तर्गत बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन्। यसबाहेक उपायले सार्वजनिक सेवाका बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुका साथै बैंकका ग्राहकलाई आवश्कताबमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ। 

सम्झौतापत्रमा बैंकको एसएमई तथा लघुबित्त विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) र उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका छन्। साझेदारीका बारेमा डनिलले भने, ‘नबिल बैंक लघु, साना तथा मझौला उद्यमीलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधा र सेवा उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ। हामी हाम्रा ग्राहक र बैंकको दिगो विकासका लागि लघु, साना तथा मझौला उद्यमीलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानुन र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौँ। हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउँछ।’

नबिल बैंकसँगको सहकार्य निकै फलदायी भएको महाप्रबन्धक केसीले बताए। ‘उपायले कर्जासम्बन्धी सेवाहरूबाहेक वित्तीय व्यवस्थापन, कानुनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ’, उनले भने, ‘बैंकका १००ं भन्दा बढी ग्राहक उपाय सर्भिसेसबाट आजसम्म सेवा उपयोग गरेर लाभान्वित भएका छन्।’

नबिल बैंकले देशभर ११९ वटा शाखा कार्यलय, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत् सञ्जालमार्फत निरन्तर सेवाग्राहीलाई गुणस्तर सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबूत र सुरक्षित बैंकिङ प्रणालीका साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवका साथ बैंक ग्राहकलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणका लागि लक्षित छ।

उपाय सर्भिसेज कानुन, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो। यसअन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भूसेवाले प्रदान गर्ने सेवालगायतका विविध सेवा प्रदान गर्ने गर्दछ।