काठमाण्डौ । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्त गरेको छ। 

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो। कम्पनीको एचआर मिटअन्तर्गत पहिलोपटक समावेश गरिएको अवार्ड नबिल बैंकले प्राप्त गरेको हो। 

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। कर्मचारीहरुको बैंकप्रतिको अनुभवको उत्कृष्टताका आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ। 

कम्पनीले अवार्ड छनोटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो। सोही छनोट समितीले नबिल बैंकलाई ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड दिने निर्णय गरेको हो।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो। 

बैंकको पवर्किङ कल्चर, सेवासुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंंंकप्रति सन्तुष्ट रहेका छन्। कोरोना कहरका बीच पनि नबिल बैंकले ७ महिनाबराबरको तलब बोनस दिएको थियो। 

नबिल बैंकले स्टार बैंकरहरुसमेत जन्माइसकेको छ। बैंकका १ हजार १२८ भन्दा बढी कर्मचारीहरु स्थायी रुपमा कार्यरत छन्। 

नबिल बैंकलाई यसअघि बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रोपटक नेपालको उत्कृष्ट बैंकद्धारा पुरस्कृत गरेको थियो। 

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा,  १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ।