काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

योजना व्यवस्थापक नेपाल इन्भेस्टमेन्ट बैंकिङले नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्सड् फन्ड–२ को वित्तीय विवरण सार्वजनिक गरेको हो। जसअनुसार साउनमा दुवै फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ। 

नबिल इक्विटी फन्डको न्याभ बढेर १९.२८ रुपैयाँ पुगेको छ। असारमा न्याभ १७.९८ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा १ अर्ब ७५ करोड रुपैयाँ र ऋणपत्रमा ११ करोड ५६ लाख रुपैयाँ बढी लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः १ अर्ब ६१ करोड रुपैयाँ र १२ करोड ११ लाख रुपैयाँ रहेको थियो।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी २ अर्ब ११ लाख रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले १६ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

यसैगरी नबिल ब्यालेन्सड् फन्ड–२ को न्याभ बढेर १८.८७ रुपैयाँ पुगेको छ। असारमा न्याभ १७.५४ रुपैयाँ रहेको थियो। 

साउनसम्म यो फन्डले सूचीकृत सेयरमा १ अर्ब ४७ करोड रुपैयाँ र ऋणपत्रमा २१ करोड ५९ लाख रुपैयाँ बढी लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः १ अर्ब ४२ करोड रुपैयाँ र २२ करोड ५ लाख रुपैयाँ रहेको थियो।

यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब ७५ लाख रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले १४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।