काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम मौका रहेको छ। 

नबिल इक्विटी फन्ड र नबिल ब्यालेन्स्ड फन्ड–२ को आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले यी दुवै योजनाको प्रतिफल वितरण प्रयोजनका लागि भोलि असोज ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज १० गतेसम्म कायम इकाइधनीहरुमात्र यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।

गत आर्थिकको मुनाफाबाट नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई ५० करोड रुपैयाँ बाँडिनेछ। 

यसैगरी नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई करसहित ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार ३९.२ करोड इकाइधनीहरुलाई बाँडिनेछ।