काठमाण्डौ । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। 

बराहताल गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तथा तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

कार्यक्रममा नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए। 

बराहताल गाउँपालिकाका अध्यक्ष बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा व्यक्त गरे। यसका साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे। 

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुका साथै अन्य गाउँपालिकावासीको समेत उल्लेख्य उपस्थिति थियोे।  

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो। 

यस कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा सुरु गरेको छ। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ।