काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गण्डकी प्रदेशबाट धितोपत्र बजारसम्बन्धी जानकारीमूलक कार्यक्रम सुरु गरेको छ। 

नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७ पुस २७ गतेको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले गण्डकी प्रदेशबाट सोसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो। 

निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा प्रकाश पारेका थिए। 

स्थापनाकालको १२ औँ वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ। ४५ लाखभन्दा बढी डिम्याट खाता खुलिसकेको नेपालको धितोपत्र बजारमा २२ लाखभन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ। 

यस्तो अवस्थामा धितोपत्र बजारसम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदाहरुका बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ।