काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपालको सेयर बजारसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्थाबारेमा जानकारी दिने गत फागुन २२ गते धनगढीमा उक्त कार्यक्रम गरेको हो। कार्यक्रममा धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी गराइएको थियो। 

कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ विभाग प्रमुख विकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए। 

हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा सञ्चालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा सञ्चालन गरिने कम्पनीले जनाएको छ। 

स्थापनाको १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गर्दैगर्दा कम्पनीले आफ्ना ग्राहकलाई दक्ष तथा अनुभवी कर्मचारीसहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ। 

५० लाखभन्दा बढी डिम्याट खाता खुलिसकेको नेपालको धितोपत्र बजारमा २६ लाखभन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ। यस्तो अवस्थामा धितोपत्र बजारसम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदाहरु तथा यसबाट हुने जोखिमहरुका बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ।