काठमाण्डौ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरका अवसरमा नबिल बैंकले काठमाण्डौको बौद्ध स्तुपाका पुराना लुंगटालाई विस्थापन गर्दै वातावरणमैत्री लुंगटाको सुरुआत गरी वातावरणसम्बन्धीको सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको छ। 

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको सविस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो। 

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाद्वारा नबिल बैंकबाट ऋणको सहयोगमा सुरु गरिएको वातावरणमैत्री लुंगटा उत्पादनलाई प्रोत्साहनसमेत गर्न र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने उद्देश्यले यो कार्यको आरम्भ गरिएको हो। 

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपालका देश प्रतिनिधि डा. घनश्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनी छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको कार्यक्रममा सहभागीहरुले यो अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा उपस्थित अतिथिहरुले वातावरणमैत्री लुंगटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। 

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ। बैंकले नियमित बैंकिङ गतिविधिअन्तर्गत पनि दिगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ। यसै वर्षदेखि सुरु गरिएको नबिल दिगो बैंकिङअन्तर्गत हरित उद्यम, कृषि, नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहनसमेत गर्दै आएकोछ। हरेक दिगोपनाको सुरुआत घरबाट हुन्छ भन्ने उद्घोषसहित शुरु भएको नबिल दिगो बैंकिङले समाजका विभिन्न क्षेत्र र व्यक्तिलाई जोड्ने र वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको छ। 

विभिन्न अध्ययनहरुले देखाएअनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथो स्थानमा पर्छ। बढ्दै गएको जलवायु परिवर्तनको असरले विपद्को प्रभावसमेत बढाउने हुँदा वतावरण संरक्षणप्रति सबै सचेत र सजग हुनुपर्छ भन्ने मान्यताका आधारमा नबिलले यस किसिमका अभियानलाई अघि बढाएको छ। विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दिगोपना भएका सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्न सुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिनेछ।