काठमाण्डौ । नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट घोषणा गरेको बोनस सेयर र नगद लाभांश सुरक्षित गर्ने आज(सोमबार) अन्तिम दिन हो । 

यो बैंकले भदौ २७ गतेलाई साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकिसकेको छ । यसको अर्थ भदौ २६ गते(आज)सम्म यो बैंकको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र घोषित लाभांश पाउनेछन् । 

नबील बैंकले यसपटक १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । यी दुुई लाभांश लगायतका प्रस्ताव पारित गर्न नबीलले आगामी असोज १० गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।

नबील बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६५ करोड खूद नाफा आर्जन गरेको थियो । हाल यो बैंकको चुक्तापुँजी ६ अर्ब १८ करोड रहेको छ र ३० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी ८ अर्ब ३ करोडको उचाईमा पुुग्नेछ । यो बैंकको अन्तिम सेयर बिक्री मूल्य प्रतिकित्ता १६३४ रुपैयाँ रहेको छ ।