काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा रहेको नबील बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति हासिल गर्दै नाफालाई ३ अर्ब ६२ करोडको उचाईमा पुर्याएको छ । यो बैंकले यति धेरै नाफा आर्जन गरेको यो नै पहिलोपटक हो । 

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ८१ करोड मात्र रहेको थियो । 

व्यवसाय वृद्धिमा आक्रामक बनेको यो बैंकको खूद ब्याज आम्दानी ५ अर्ब ४५ करोड भएको छ, अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ३२ करोडमा सीमित थियो । अघिल्लो वर्ष ४ अर्ब ३४ करोड रहेको संचालन नाफा वृद्धि गरी ५ अर्ब ४६ करोडको उचाईमा पुर्याएको छ ।

यो बैंकले जगेडा कोषमा मात्रै करिब ३ अर्ब थपेको छ । अघिल्लो वर्षसम्म ६ अर्ब १२ करोडमा सीमित यस्तो कोष वृद्धि भई यो वर्ष ९ अर्ब ३ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा नबील बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरी ९१ ऋर्ब ४९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब १० अर्ब निक्षेप संकलन गरी ७७ अर्ब ७३ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले अघिल्लो वर्षसम्म १.१४ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर ०.७९ प्रतिशतमा झारेको छ । यस्तै, लागत खर्च पनि केही बढेको देखिएको छ, तथापि सीमाभित्रै छ । अघिल्लो वर्ष लागत खर्च २.०८ प्रतिशत रहेकोमा त्यो बढेर यो वर्ष २.७० प्रतिशत पुुगेको छ। 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष ५९ रुपैयाँ २७ पैसा रहेको प्रति सेयर आम्दानी यो वर्ष ५९ रुपैयाँ ६ पैसा कायम भएको छ । प्रति सेयर नेटवर्थ २४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७९ गुणा कायम भएको छ । बैंकले मूल्य आम्दानी अनुपातमा अघिल्लो वर्षको तुलनामा व्यापक सुधार गरेको देखिएको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३९.५५ गुणा थियो ।