काठमाण्डौ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर सार्वजनिक गरिसकेका छन्। 

तरलतामा दबाब परेसँगै निक्षेपलाई आकर्षित गर्न चाडपर्वका अवसरमा बैंकहरुले मुद्दतिसँगै सामान्य बचतको ब्याजदर बढाएका छन्। अधिकांश बैंकहरुले कर्जाको ब्याजदर पनि बढाएका छन्।

चाडपर्वकै अवसर पारेर बजारमा नयाँ कार (गाडी) खरिदको लहर चल्न सुरु हुन्छ। यही अवसरमा विभिन्न ब्रान्डका मोटरसाइकल तथा कारहरुमा आकर्षक छुटका साथ कम्पनीहरुले ग्राहकको ध्यान केन्द्रित गरिरहेका छन्। अधिकांश कम्पनीले शून्य प्रतिशतदेखि २०–४० प्रतिशत डाउन पेमेन्टदेखि कार ग्राहकलाई उपलब्ध गराइरहेका छन्।

बैंकहरुले पनि अटो लोनका लागि ब्याज सार्वजनिक गरेका छन्।

वाणिज्य बैंकहरुले आकर्षक ब्याजदरमा अटो लोन उपलब्ध गराइरहेका छन्। 

मेगा बैंकले निजी तथा व्यावसायिक प्रयोजनका लागि शून्य प्रतिशतदेखि अधिकतम ७ प्रतिशत प्रिमियममा आधार दर जोडेर अटो लोन प्रवाह गर्ने भएको छ। मेगाले स्थिर ब्याजदरअन्तर्गत यस्तो कर्जा पनि शून्य प्रतिशतदेखि ७ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ। मेगा बैंकको आधारदर ६.४८ प्रतिशत रहेको छ। 

नेपाल बैंकले निजी प्रयोजनका लागि अटो लोन ५ वर्ष अवधिका लागि २.५५ प्रतिशतदेखि ३.१६ प्रतिशत प्रिमियमसम्म, ७ वर्ष अवधिका लागि ३.५५ प्रतिशतदेखि ४.१६ प्रतिशत प्रिमियसम्म तथा निजी व्यापारिक प्रयोजनका लागि ५ वर्षसम्मका लागि २.५५ प्रतिशतदेखि ४.१६ प्रतिशत प्रिमियमसम्म उपलब्ध गराउने भएको छ। 

व्यावसायिक प्रयोजनका लागि भने नेपाल बैंकले ३ देखि ५ वर्षसम्म अवधिका लागि ३.५५ प्रतिशतदेखि ४.१६ प्रतिशतसम्मको प्रिमियममा अटो लोन प्रवाह गर्ने भएको छ। नेपालक्ष्मी योजनाअन्तर्गत भने बैंकले १.५५ प्रतिशतदेखि २.१६ प्रतिशत प्रिमियममा, व्यावसायिक अटो लोन १.५५ प्रतिशतदेखि २.१६ प्रतिशतसम्म र इलेक्ट्रिक गाडी खरिदका लागि २.०१ प्रतिशतदेखि ४.१६ प्रतिशतसम्मको प्रिमियममा नेपाल बैंकले कर्जा प्रवाह गर्ने भएको छ। नेपाल बैंकको आधारदर ५.७३ प्रतिशत रहेको छ।

नेपाल बैंकले अटो लोन १०.८५ प्रतिशतदेखि १२.८५ प्रतिशत स्थिर ब्याजदरमा पनि प्रवाह गर्ने भएको छ। 

सिटिजन्स बैंकले भने आधार दरमा ०.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर अटो लोन प्रवाह गर्ने भएको छ। यो लोन बैंकले निजी प्रयोजनका लागि १०.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म र व्यावसायिक प्रयोजनका लागि १२ प्रतिशत स्थिर ब्याजदरमा पनि उपलब्ध गराउनेछ। 

सिटिजन्स बैंकको आधारदर ७.८४ प्रतिशत रहेको छ। 

एनआईसी एसिया बैंकले अटो लोन १० वर्षसम्मका लागि आधारमा अधिकतम ६ प्रतिशत प्रिमियम जोडेर तथा १२.७७ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ। बैंकको आधार दर ६.८४ प्रतिशत रहेको छ। 

यसैगरी सिद्धार्थ बैंकले ६.८३ प्रतिशत आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर अटो लोन प्रवाह गर्ने भएको छ। स्थिर ब्याजदरअन्तर्गत भने बैंकले यस्तो कर्जा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत र ५ वर्ष माथि अवधिका लागि १०.४९ प्रतिशतमा उपलब्ध गराउने भएको छ। 

लक्ष्मी बैंकले अटो लोन आधार दरमा ५ अधिकतम प्रतिशतसम्म प्रिमियम जोडेर प्रवाह गर्ने भएको छ। स्थिर ब्याजदरअन्तर्गत भने बैंकले १ वर्षदेखि १५ वर्षसम्मको अवधिमा न्यूनतम ९.९९ प्रतिशतदेखि अधिकतम १३.९९ प्रतिशतसम्म यो कर्जा बैंकले उपलब्ध गराउने भएको छ। बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ। 

कुमारी बैंकले पनि निजी प्रयोजन र व्यावसायिक प्रयोजनका लागि अटो लोन अधिकतम ७ प्रतिशतसम्म प्रिमियममा प्रवाह गर्ने भएको छ। बैंकको आधार दर ७.६५ प्रतिशत रहेको छ। स्थिर ब्याजदरअन्तर्गत भने बैंकले समायावधिअनुसार ९.९९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म यो कर्जा उपलब्ध गराउने भएको छ। 

ग्लोबल आइएमई बैंकले पनि अटो लोन ५ वर्षदेखि १० वर्ष माथिसम्म यस्तो कर्जा आधार दरमा न्यूनतम १.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म अटो लोन प्रवाह गर्नेछ। यी अवधिका लागि स्थिर ब्याजदरमा भने यो कर्जा ९.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म उपलब्ध गराउने भएको छ। यो बैंकको आधारदर ६.६ प्रतिशत रहेको छ। 

यसैगरी बैंक अफ काठमाण्डूको हायर पर्चेज लोन आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम जोडेर प्रवाह गर्नेछ। यो बैंकले स्थिर ब्याजदरअन्तर्गत भने यो कर्जा ९.९९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म उपलब्ध गराउनेछ। 

प्राइम बैंकको आधारदर ७.२१ प्रतिशत रहेको छ। यही आधारदरमा बैंकले निजी तथा व्यावसायिक प्रयोजनका लागि अधिकतम ६.९९ प्रतिशतसम्म प्रिमियम जोडर हायर पर्चेज कर्जा प्रदान गर्नेछ। बैंकले १० देखि ११ प्रतिशतसम्मको स्थिर ब्याजदरमा पनि यो कर्जा उपलब्ध गराउने भएको छ। 

नबिल बैंकले निजी तथा व्यावसायिक, ट्याक्टर र इलेक्ट्रिक गाडी कर्जा आधारदरमा शून्य प्रतिशतबाट अधिकतम ७ प्रतिशतसम्म अटो लोन प्रदान गर्नेछ। बैंकको आधारदर ५.५२ प्रतिशत रहेको छ। बैंकले अटो लोन ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा र ५ वर्षमाथि ७ वर्षसम्मका लागि ११ प्रतिशत स्थिर ब्याजदरमा यो कर्जा उपलब्ध गराउनेछ। 

अटो लोन सिभिल बैंकले निजी प्रयोजनका लागि आधारदरमा अधिकतम ४ प्रतिशतसम्म र व्यावसायिक प्रयोजनका लागि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर उपलब्ध गराउनेछ। बैंकले ७ वर्षसम्मका लागि ७.८९ प्रतिशत आधारदरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम जोडेर स्थिर ब्याजदरमा यो कर्जा प्रवाह गर्नेछ। 

एनसीसी बैंकले गाडी कर्जा आधारदर ७.५७ प्रतिशतमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोडेर उपलब्ध गराउनेछ। स्थिर ब्याजदरमा भने एनसीसी बैंकको यो कर्जा १०.२५ प्रतिशतदेखि १०.७५ प्रतिशतसम्म उपलब्ध हुनेछ। 

कृषि विकास बैंकले अटो लोन आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर प्रदान गर्ने भएको छ। बैंकको आधारदर ७.१३ प्रतिशत रहेको छ। बैंकले यो कर्जा ९ प्रतिशत स्थिर ब्याजदरमा पनि उपलब्ध गराउनेछ। 

अटो लोन प्रभु बैंकले अधिकतम ५ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउनेछ। स्थिर ब्याजदरअन्तर्गत भने यो कर्जा बैंकले ५ वर्षसम्मका लागि १०.२४ प्रतिशतमा र ५ वर्षदेखि १० वर्षसम्मका लागि ११.२४ प्रतिशतमा उपलब्ध गराउनेछ। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले आधार दरमा ९.७५ प्रतिशतदेखि १०.२५ प्रतिशतसम्म उपलब्ध गराउनेछ। बैंकको आधारदर ५.५१ प्रतिशत रहेको छ। 

वाणिज्य बैंकले भने गाडी कर्जा २ प्रतिशत र विद्युतीय गाडी कर्जा १.५ प्रतिशत प्रिमियममा उपलब्ध गराउनेछ। बैंकको आधारदर ५.४१ प्रतिशत रहेको छ। बैंकले गाडी कर्जा ९.५ प्रतिशतमा र विद्युतीय गाडी कर्जा ८.५ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउनेछ। 

एनएमबी बैंकले गाडी कर्जा आधारदरमा प्राइम, स्ट्यान्डर्ड र अन्य गरी १ प्रतिशतदेखि ५ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउनेछ। अटो र इलेक्ट्रिक गाडी कर्जा बैंकले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म जोडेर प्रवाह गर्नेछ। 

बैंकले गाडी कर्जा ०.५ प्रतिशतदेखि ५ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउनेछ। बैंकले ५ वर्षसम्म ९.९९ प्रतिशत र ५ वर्षमाथिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा यो कर्जा उपलब्ध गराउनेछ। 

सेञ्चुरी बैंकको आधारदर ७.५५ प्रतिशत रहेको छ। बैंकले आधारदरमा अधिकतम ४.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म निजी तथा व्यवसायी प्रयोजनका लागि अटो लोन उपलब्ध गराउनेछ भने स्थिर ब्याजदरअन्तर्गत ११.९९ देखि १२.२४ प्रतिशतसम्म समयावाधि हेरेर उपलब्ध गराउनेछ। 

नेपाल इन्भेस्टमेन्ट बैंकले आधादरमा १.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको प्रिमियम जोडेर निजी तथा व्यावसायिक अटो लोन प्रवाह गर्नेछ। स्थिर ब्याजदरअन्तर्गत भने १०.९९ प्रतिशतदेखि ११.९९ प्रतिशसम्म यो कर्जा उपलब्ध हुनेछ। 

एभरेष्ट बैंकले आधारदर ५.८५ प्रतिशतमा २.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर अटो लोन उपलब्ध गराउनेछ। स्थिर ब्याजदरअन्तर्गत भने यो लोन समयावधिअनुसार १२, १३ र १४ प्रतिशतसम्म बैंकले प्रदान गर्नेछ। 

आधारदर ७.०१ प्रतिशत रहेको सनराइज बैंकले स्थिर ब्याजदरअन्तर्गत निजी प्रयोजनका लागि ५ वर्षसम्मका लागि १२.७५ प्रतिशत र ८ वर्षसम्मका लागि १३ प्रतिशतको स्थिर ब्याजदरमा उपलब्ध गराउनेछ। व्यावसायिक प्रयोजनका लागि भने यस्तो कर्जा बैंकले क्रमशः १३ र १४ प्रतिशतमा उपलब्ध गराउनेछ। 

नेपाल एसबिआई बैंकले स्थिर ब्याजदरअन्तर्गत हायर पर्चेज लोन समयावधिअनुसार १२.५ प्रतिशतदेखि १४ प्रतिशतसम्म उपलब्ध गराउनेछ। आधारदर ७.३७ प्रतिशतमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर बैंकले यो कर्जा उपलब्ध गराउनेछ।

माछापुच्छ्रे बैंकले भने आधारदरमा शून्य प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म प्रिमियम जोडेर अटो लोन प्रदान गर्नेछ। स्थिर ब्याजदरअन्तर्गत भने बैंकबाट यो लोन समयावधिअनुसार ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म पाइनेछ।