काठमाण्डौ । नयाँ वर्ष २०७३ को पहिलो कारोबारको दिन बिहीबार शेयरबजार कारोबार बुल हुँदै नयाँ रेकर्ड कायम भएको छ । शेयर बजारमा अन्य दिनको तुलनामा कम रकमको कारोबार भए पनि नेप्से परिसूचक इतिहासमै पहिलोपटक १४०० अंक माथि पुगेको हो । 

नयाँ वर्षको पहिलो कारोबारको दिन नेप्से परिसूचक १४०५.७८ अंकमा पुगेको छ । यो दिन ५१ करोड ९६ लाख भन्दा बढी मूल्यको शेयर कारोबार भएको छ । ११ लाख ५४ हजार भन्दा बढी कित्ता शेयरहरुको २ हजार ६ सय भन्दा बढी कारोबारबाट किनबेच भएको थियो । सेन्सेटिभ र फ्लट इण्डेक्स क्रमशः ३.८ र १.३५ अंकले उकालो लागेका छन् । 

बिहीबार सबैभन्दा बढी बिमा कम्पनीको सूचक उकालो लागेको छ । यो समूहको सूचक ५८.५६ अंकले वृद्धि भई ६१४३ अंकमा पुगेको छ । यस्तै उत्पादनमूलक समूहको सूचक पनि ३२.८ अंकले उकालो लागेको छ । बिहीबार बजारलाई बुल गर्न विकास बैंक र बैकिंग समूहले समेत महत्वपूर्ण योगदान गरे । यी दुई समूहको सूचक क्रमशः २४ र १८ अंकले माथि उक्लिए । सबै समूहको सूचकमा हरियो देखिएको यो दिन सबैभन्दा कम जलविद्युत समूहको सूचक ७.१९ अंकले माथि उक्लियो । 

२०७२ सालको अन्तिम दिन नेप्से परिसूचकले १३८८ को ऐतिहासिक बिन्दू पार गरेको थियो । बिहीबार यो विन्दू समेत पार भई दोहोरो अंक अर्थात १७.१५ अंकको उछाल आई नेप्से परिसूचकले १४०५ अंकको नयाँ रेकर्ड बनाएको हो । 

यसरी नयाँ वर्षको पहिलो दिनकै कारोबारमा नेप्सेले ऐतिहासिक अंकको रेकर्ड बनाएपछि विश्लेषकहरुले यो वर्ष समेत शेयर बजार गुल्जार नै भइराख्ने दाबी गर्न थालेका छन् । 

अझै बढ्नसक्छ बजार
नयाँ वर्षको पहिलो कारोबारको दिनमै शेयर बजारले नयाँ रेकर्ड बनाएसँगै आगामी दिनमा बजार कसरी अगाडि बढ्ला भन्ने विभिन्न अड्कलबाजीहरु सुरु भएका छन् । हुन त शेयर बजारमा हुने सबै अड्कलबाजीहरु पुग्छन भन्ने पनि हुँदैन, तर केही आधारहरुलाई हेरेर भन्ने हो भने आगामी दिनमा शेयर बजार अझ माथि उक्लिन सक्ने प्रशस्त संभावना देखिन्छ । 

विभिन्न बैंक, बित्तीय संस्था तथा सूचिकृत कम्पनीहरुले तेश्रो त्रैमासको बित्तीय विवरण धमाधम सार्वजनिक गर्ने बेला भएको छ । तेश्रो त्रैमासको  बित्तीय विवरणको आधारमा लगानीकर्ताले सम्बन्धित कम्पनीको बित्तीय अवस्था तथा जोखिमको बिषयमा बुझ्नेछन र सोही आधारमा लगानी बढाउँदा शेयरबजार अझ माथि उक्लिनेछ । तेश्रो त्रैमासमा गरेको खूद नाफाबाट कुन कम्पनीले भोलिका दिनमा कति लाभांश दिनसक्छन् भन्ने आँकलन समेत हुने भएकोले कम्पनीको बित्तीय विवरणका आधारमा लगानीकर्ताहरुको आकर्षण बढ्न सक्नेछ । 
दोश्रो त्रैमासको रिपोर्ट हेर्दा अधिकांश बैंक तथा बित्तीय संस्थाले राम्रो नाफा गरेका छन् । यो आधारमा तेश्रो त्रैमासमा समेत राम्रो नाफा देखिइने र बैंक तथा बित्तीय संस्थाले राम्रो लाभांश बाँड्ने आशामा लगानीकर्ताहरु बढी आकर्षित भई शेयर बजारमा थप उछाल आउने संभावना समेत रहेको विश्लेषकहरु बताउँछन । 

विश्लेषकहरुका अनुसार बैंक तथा बित्तीय संस्थाहरुमा नाकाबन्दी, भूकम्पपछिको अवस्थामा लगानीको क्षेत्र संकुचन भई थुप्रिएको तरलता अझै व्यवस्थापन भएको छैन । राष्ट बैंकले पनि पटक पटक प्रशोचन गर्दा समेत बजारको तरलताको व्यवस्थापन नभएकै कारण सहयोगका लागि आइएमएफ लगायतका अन्तराष्टिय निकायलाई उसले गुहारिरहेको छ । यसको अर्थ, तत्काल लगानीको वातावरण एकाएक बन्ला भन्ने पत्याउन सकिने आधार पनि छैन । यसकारण, लगानीको वातावरण थप संकुचन हुने, सुनचाँदी, घरजग्गा, उद्योग तथा व्यापार क्षेत्रमा समेत खासै लगानी नहुने अवस्थामा बजारको तरलता शेयर बजारमा व्यवस्थित हुने ठानेर पैसावालहरु बजारमा प्रवेश गरी शेयर बजार थप तरगिंत हुने संभावना समेत अधिक रहेको छ । अधिक तरलताको व्यवस्थापनकै लागि बैंक तथा बित्तीय संस्थाहरुले सस्तो ब्याजदरमा शेयर धितोकर्जा समेत प्रवाह गर्न थालिसकेकोले यसले समेत शेयरबजारमा लगानीकर्ताहरुको भीड जम्मा हुने र त्यसले बजार नै गुल्जार बनाइदिने संभावना समेत रहेको देखिन्छ । 

२०७२ सालमा बिमा समूहको सूचकले ऐतिहासिक विन्दू पार गर्यो । बिमा कम्पनी र लघुवित्तहरुको समेत चुक्तापूँजी वृद्धिको योजना नियामकहरुले ल्याउन खोजिरहेका छन् । यसले समेत यी कम्पनीहरुको शेयर कारोबार वृद्धि हुनसक्ने देखिएको छ । अर्कोतर्फ, सूचिकृत बैंक तथा बित्तीय संस्थाहरुमा भइरहेको मर्ज र कतिपय संस्थाले आफैं  पूँजी वृद्धि गर्ने उद्देश्य अनुरुप हकप्रद, बोनश शेयर समेत वितरण गर्ने, एफपीओ र आइपीओ जस्ता लगानीकर्तालार्ई फाइदा हुने बाटो अवलम्बन गर्ने भएकोले समेत बजारमा थप उत्साह कायम हुनसक्नेछ र यसले लगानीकर्र्तालाई चलायामान बनाई शेयरबजारको समग्र चहलपहललाई नै बुल गर्नेछ । 
डिम्याट गरिएको शेयरको मात्र कारोबार थालिएको, शेयर बजारलाई पूर्ण रुपमा अभौतिकीकरण गरिएको, चार दिनमै किनेको शेयर र त्यसको पैसा आफ्नो खातामा जम्मा हुनु र पूर्ण डिजिटल प्रविधिमा लगिएका कारण समेत शेयर कारोबार पहिला भन्दा निकै छरितो र सहज भएको छ, यो अर्थमा समेत लगानीकर्ताहरुलाई झञ्झट हुने छैन र यसले बजारलाई बुल गर्न सहयोग गर्ने कतिपयको बुझाई छ । 

हुन त पछिल्लो समय शेयरबजारलाई बुझेका पढे लेखेका लगानीकर्ताहरुको बजारमा प्रवेश भएको, धेरैले शेयरको लगानीलाई व्यवसाय बनाएका कारण समेत स्वस्थ प्रतिस्पर्धा बढी बजारलाई बुल गर्न सहयोग गर्ने विश्लेषकहरुको अनुमान छ । अर्कोतर्फ, शेयर बजारका नियामक निकायहरुले लगानीकर्ताहरुको हितलाई ध्यानमा राखेर दीर्घकालीन र राम्रा योजनासहित काम अगाडि बढाएकाले यसको सकारात्मक प्रभाव समेत बजारमा पर्ने देखिन्छ । 

२०७३ सालमा ठूला लगानीका कतिपय जलविद्युत कम्पनीहरु समेत शेयरबजारमा प्रवेश गर्नेछन् । यसले समेत शेयर कारोबार अझ बढाउने दाबी गरिएको छ । विश्लेषकहरुले केही अपवाद बाहेक २०७३ को शेयरबजार सुखद नै हुने प्रक्षेपण गरेका छन् । कम्पनीको बित्तीय अवस्था, आफ्नो विवेक प्रयोग गर्ने र हल्लाको पछि नलागी यथार्थ बुझेर मात्र लगानी गर्ने हो भने तपाईको लगानी समेत डूब्ने छैन ।